घोराही, ७ चैत्र । बहुमूल्य जडिबुटीको महत्त्वका बारेमा थाहा नहुँदा किसानहरु मारमा पर्ने र व्यापारीहरुले फाइदा लिने देखिएको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् ।
सामुदायिक वन महासंघ दाङको आयोजना र जिआइजेटको सहयोगमा बुधबार घोराहीमा भएको औषधि तथा सुगन्धित बिरुवाको क्षेत्रमा नेपाल व्यापार एकीकृत रणनीतिक कार्यान्वयन परियोजना कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले दाङमा त्यस्ता जडिबुटीहरु प्रशस्त भए पनि पहिचान गर्न नसकिएको बताएका हुन् ।
कार्यक्रममा परियोजनाका संयोजक विद्याराज कँडेलले जिल्लामा टिमुर, तेजपात, मेन्था, क्यामोमाइल, सुगन्धकोकिला, गडिरे लगायतका जडिबुटीहरु प्रशस्तै रहेको बताउनुभयो । तर उक्त जडिबुटीका बारेमा र त्यसको महत्त्व थाहा नहुँदा व्यापारीले बढी नाफा खाने गरेको र केही जडिबुटीहरु खेर समेत जाने गरेको कँडेलले बताउनुभयो ।
त्यसको उचित संरक्षण, सङ्कलन, प्रशोधन र बिक्रीमा लाग्न सके आर्थिक सुधारमा जडिबुटीले ठूलो योगदान पुर्याउने उहाँको भनाइ छ । वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले आयआर्जन र रोजगारका लागि जडिबुटी खेतीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
बजार अभाव र व्यवसायीहरुको आफूखुशी मूल्य निर्धारणमा समस्या देखिनसक्ने तर जडिबुटी खेतीले आर्थिक सुधारमा ठूलो सहयोग पुर्याउने बताउनुभयो । अब स्थानीय तहहरुबाटै जडिबुटीहरुको प्रवर्द्धन एवं किसानहरुलाई लगानीको वातावरण बनाएर अघि बढ्न आवस्यक रहेको मेयर चौधरीको भनाइ छ ।
कार्यक्रममा लमही नगरपालिकाका मेयर कुलबहादुर केसी र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जडिबुटीको पहिचान र त्यसको बजारीकरणमा स्थानीय सरकारले अब विषेश ध्यान दिने बताउनुभयो । सम्भावित र पकेट क्षेत्र निर्धारण गरी जडिबुटीलाई किसानको आयआर्जनको माध्यम बनाउने उहाँहरुले बताउनुभयो ।
Advertisements
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)