दाङ, २१ चैत । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेशको हालत पहाडबाट बसाई सरेको परिवार जस्तो भएको बताएका छन् । बुधबार तुलसीपुर उपमहानगरपालिकाको दोस्रो सभालाई सम्बोधन गर्दै पोख्रेलले केही पनि संरचना र पूर्वाधार नभएकाले प्रदेशको हालत पहाडबाट भर्खरै बसाई सरेर तराई झरेको परिवार जस्तो अलपत्र अबस्थामा रहेको बताए ।

‘पहिलोपटक प्रदेशको अभ्यास हुन थालेको र हतारमा सबै तयारी गर्नुपर्ने भएकाले पूर्वाधार अभाव छ,’ उनले भने, ‘हामी भर्खरै बसाई सरेको परिवार जस्तो हालतमा छौं । स्थानीय तह पहिलेदेखि नै सञ्चालित निकाय भएकाले प्रदेश सरकारभन्दा स्थानीय सरकार पूर्वाधारका हिसावले बढी व्यवस्थित छन् ।’ अहिले समस्या भएपनि स्थानीय तहसँग गति मिलाउन प्रदेशले छिटै कानून र योजनाहरु बनाएर अघि बढ्ने जानकारी उनले दिए ।असारदेखि प्रदेशले बजेटसहित आफ्नो प्रादेशिक योजनामा काम गर्न थाल्ने उनले बताए । ‘अहिले सबैखालका समस्या भए पनि यो लामो समय जा“दैन,’ उनले भने,‘हामी छिट्टै समाधान गरी काममा अघि बढ्छौँ ।’

संविधानले दिएका अधिकार प्रयोग गर्न तत्काल धेरै कानून बनाएर अघि बढ्नुपर्ने भएकाले अहिले प्रदेश र स्थानीय सरकारको ध्यान त्यतैतर्फ जान आवश्यक रहेको उनले बताए । संघीय सरकारले नमूना कानून बनाएर पठाएकाले अब त्यसलाई स्थानीय आबश्यकताका आधारमा परिमार्जन गरी पारित गर्दै जानुपर्ने पोख्रेलले बताए । ‘अब सेवा प्रवाहका लागि कानून जरुरी छ,’ उनले भने, ‘स्थानीय तहका सभाले संविधानसँग नबाझिने र आर्थिक भार थेग्नसक्ने गरी कानून निर्मँण गर्नुपर्छ ।’

उपमहानगरका प्रमुख घनश्याम पाण्डेले सभाबाट आबश्यक सबै कानूनहरु पारित गरी विकासका कार्यक्रम तय गर्ने बताए । सडक निर्माण, मोनो रेलको सम्भाव्यता अध्ययन, उत्तर दक्षिण व्यापारिक सम्बन्ध जोड्ने, पर्यटन विकास गर्ने जस्ता योजनाहरु तय गरी नमूना कामहरु गर्ने पाण्डेले बताए । सभामा प्रदेश सांसद् अमर डाँगी, एमाले जिल्ला अध्यक्ष टिकाराम खड्का, पूर्व जिल्ला सचिव शोभाराम बस्नेत, माओवादी केन्द्रका रामजी चौधरी लगाएतको सहभागिता थियो ।

उपमहानगरकी उपप्रमुख माया आचार्यले स्थानीय तहबाट सम्बोधन हुन नसक्ने योजनाहरु प्रदेशबाट सम्बोधन गर्न अनुरोध गर्दै मुख्य मन्त्री पोख्रेललाई हस्तान्तरण गरेकी थिइन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस