दाङ, २ असार । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीले युवाको नेतृत्व समाज रुपान्तरणका लागि महत्वपूर्ण भएको बताउनुभएको छ । दङ्गीशरण गाउँपालिकामा रहेका युवा क्लवका पदाधिकारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको आज आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले युवाहरुको सही नेतृत्वले समाजलाई सही दिशामा निर्देश गर्ने बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमखु अतिथि ओलीले स्थानीय तहलाई युवा लक्षित उद्यमशीलताका कार्यक्रम ल्याउन सुझाव दिनुभएको थियो । उहाँले सडकमा टायर बालेर ऊर्जाशील समय खेर नफाल्न युवाहरुलाई आग्रह गर्दै हरेक युवा एउटा सफल उद्यमीका रुपमा स्थापित हुन जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले युवा संसदको अवधारणा, स्थानीय वडा क्लबको गठन, काम कर्तव्य र अधिकार, युवा क्लबको काम कर्तब्य र अधिकार, युवा संसद गठनको उद्देश्य र निर्माण प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रमअन्तर्गत जिल्ला युवा समिति दाङको आयोजना एवं राष्ट्रिय युवा परिषद् नेपालको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका २६ जना युवाहरुको सहभागिता रहेको थियो ।
एमएन शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गोविन्द केसीले गर्नुभएको थियो ।












