दाङ, १२ भदौ । जिल्लास्तरीय वार्षिक समीक्षा मङ्गलबारदेखि शुरु भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा शुरु भएको कार्यक्रम भोलिसम्म सञ्चालन हुने छ ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एवं प्रदेश सांसद तथा प्रदेश मामिला तथा कानून समिति सभापति दामाकुमारी शर्माको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा शर्माले पुँजीगत खर्च अझै पनि राम्रोसँग खर्च हुन नसकेको भन्दै त्यसलाई सुधार गरेर जानुपर्ने सुझाव दिनुभयो । ‘जनताले सहज रुपमा सेवा पाउनु पर्छ । जनताले नजिकको सरकार पाएका छन’ उहाँले भन्नुभयो ‘त्यो अनुसारका कार्यक्रम स्थानीय सरकारले दिनुपर्छ ।’ स्थानीय स्रोत साधनको प्रयोग गरेर जनताको आयस्तर बढाउनतिर अब सबै सरकार लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सांसद उत्तरकुमार ओली, धमकली चौधरी र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समन्वय समितिका सव इञ्जिनियर रामकुमार आचार्यले गरेका थिए ।

समीक्षा कार्यक्रममा स्थानीय तहले कर्मचारी र कानूनको अभाव नै मुख्य समस्या भएको बताएका थिए । ‘स्थानीय तहमा जनताका अपेक्षा धेरै छन् तर कर्मचारी र कानूनको अन्यौलता नै मुख्य समस्या छ’ बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले भन्नुभयो ‘तर भएको जनशक्ति प्रयोग गरेर नागरिकलाई सेवा दिने काम भएको छ ।’ स्थानीय तहमा जनशक्तिको अभाव भए पनि भएको जनशक्ति र स्रोत साधन प्रयोग गरेर आशा लाग्दा कामको सुरुवात भएको उहाँले बताउनुभयो ।

राजपुर गाउँपालिकाले वडा नं. ५ लाई धुँवामुक्त वडा घोषणाका साथै वडाका ५ सय २८ घरमा चुलोसहितको ग्याँस सिलिन्डर वितरण गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा शर्माले भन्नुभयो ‘मानव स्वास्थ्यलाई ख्याल गरेर नमुना कामको सुरुवात गरेका छौ ।’
त्यसैगरी बङ्गलाचुलीले पनि ५ नम्बर वडालाई पूर्ण सरसफाई वडा घोषणा गरेको बताएको छ । तुलसीपुर उपमहनगरपालिकाले नगरपालिकामा स्तनपान कक्ष, डिजिटल नोटिस बोर्ड, जग्गा संरक्षणलगायतका काम गरेको जानकारी गराइएको थियो ।

मङ्गलवार तुलसीपुर उपमहानगरपालिका, राजपुर, बबई, राप्ती, दङ्गीशरण र बङ्गलाचुली, सेलर्ड, जनस्वास्थ्य, भूमि जलस्रोत सिंचाई, जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, सिसा नेपाल, मानव कल्याण तथा वातावरण, सिंचाई विकास, परिवार नियोजन गरेर २१ वटा सरकारी तथा गैरसरकारी संस्थाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमले बताउनुभयो । बाँकी कार्यालय, स्थानीय तह र गैरसरकारी संस्थाको समीक्षा भोलि बुधबार हुने भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस