अमरराज आचार्य
दाङ, २६ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । संघले एक कार्यक्रमको आयोजना गरी रिपुमर्दन गण घोराहीमा सरुवा भएर आएका प्रमुख सुमनकुमार थापालाई स्वागत तथा सरुवा भएर जान थालेका भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेलाई बिदाई गरेको हो ।
कार्यक्रममा बोल्दै रिपुमर्दन गणका प्रमुख थापाले आफू सामाजिक कार्यमा सबैसँग मिलेर अगाडि बढ्ने बताउनुभयो । नेपाली सेना सामाजिक कार्यमा सहकार्य गरेर अगाडि बढ्न तयार रहेको थापाको भनाइ थियो । बिदाइ भएर जान लागेका भवन डिभिजन कार्यालयका प्रमुख पाण्डेले जिल्लामा काम गर्दा सबैको सहयोगले आफूलाई काम गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले काममा सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष रामदयाल गुप्ता, घोराही उपमहानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागीलाई संघका उपाध्यक्ष टंकसिंह बुढाथोकीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।
Advertisements


