घोराही, १८ असोज । घोराही उपमहानगरपालिकाले बजार अनुगमनलाई  निरन्तरता दिएको छ । उपमहानगरपालिकाले बिहीबार चाउमिन उद्योगहरु अनुगमन गरेको हो । उपमहानगरका उपमप्रमुख तथा बजार अनुगमन समितिका संयोजक सीता सिग्देल न्यौपानेको नेतृत्वमा भएको अनुगमन टोलीले घोराही १७ गैरागाउँमा सञ्चालित ऋषिकेश चाउमिन उद्योगलाई तत्कालका लागि बन्द गराएको छ ।
उक्त चाउमिन उद्योग दर्ता विनै सञ्चालनमा रहेको, चाउमिन, ससहरुमा उत्पादन मिति, उपभोग मिति र मूल्य कुनै पनि कुराहरु उल्लेख नभएको पाइएपछि तत्कालका लागि उत्पादन र बिक्रीमा रोक लगाइएको उपप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
करिब ८० वटा बोतलमा तयार पारिएको ससहरुमा उत्पादन मिति, उपभोग मिति र मूल्यहरु उल्लेख नभएको र गोठमा चाउमिन उत्पादन गरेको फेला परेपछि उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएकाले उक्त वस्तुहरु बिक्री नगर्न र उत्पादन समेत नगर्न निर्देशन दिइएको न्यौपानेले जानकारी दिनुभयो ।
३ दिनभित्रमा पसल दर्ता गर्न र मापदण्डअनुसार सञ्चालनमा ल्याउन टोलीले निर्देशन दिएको छ । त्यसैगरी टोलीले फुर्सेखाली जानेबाटोमा रहेको सहदेब चाउमिन, डुम्मरगाउँमा रहेको रोल्पाली चाउमिन उद्योग, रतनपुरमा रहेको न्यू राप्ती चाउमिन उद्योगको समेत अनुगमन गरेको छ ।
रोल्पाली चाउमिन उद्योगले मात्रै नगरपालिकामा दर्ता गराएको पाइएको छ भने अन्यले कर कार्यालय, घरेलु, उद्योग वाणिज्य संघमा दर्ता गरे पनि नगरपालिकामा दर्ता नगरेको फेला पारेपछि ३ दिनभित्रमा दर्ता गर्न र सरसफाईमा विषेश ध्यान दिन टोलीले निर्देशन दिएको छ ।
टोलीले अन्य ३ किराना र २ डेरी पसलको समेत अनुगमन गरेको छ । ती पसलहरु उपमहानगरपालिकामा दर्ता विना सञ्चालनमा रहेको भेटिएपछि ३ दिनमा दर्ता प्रकृयामा आउन भनिएको छ ।
अनुगमन टोलीमा वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, वडा नम्बर ६ का अध्यक्ष रेवबहादुर बुढाथोकी, वडा नम्बर १४ का सदस्य लछुमन बुढा, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, प्रहरी नायव निरिक्षक चूर्णबहादुर पुन, पत्रकार महासंघका सदस्य जनक नेपालीसहित उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवतबहादुर बुढाथोकी, वातावरण शाखा प्रमुख दुर्गा खत्रीको समेत सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस