घोराही, १८ मंसिर । अंग्रेजी माध्यमको पढाइलाई प्रभावकारी बनाउन घोराही उपमहानगरपालिकाले शिक्षकहरुलाई ५ दिने तालिम दिएको छ । नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने शिक्षकहरुलाई उपमहानगरको शिक्षा महाशाखाले अंग्रेजी बोल्ने, विद्यार्थीलाई पढाउने र सिकाउने विषयमा तालिम दिएको हो ।
तालिमको समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले शैक्षिक विकास विना अन्य विकास असम्भव हुने बताउनुभयो । गुणस्तरीय शिक्षाले नै दक्ष र क्षमतावान् जनशक्ति उत्पादन गर्ने भन्दै मेहनती बनेर सिकाउन शिक्षकहरुलाई निर्देशन दिनुभयो । शिक्षक अनुशासित, मेहनती र लगनशील भए मात्रै विद्यार्थीले सही शिक्षा पाउने उहाँको भनाइ छ ।
शिक्षकहरुलाई स्थानीय सरकारले अंग्रेजीमा भोक जगाएको भन्दै विद्यार्थीभन्दा तीन गुणा मेहनत गरेर विद्यार्थीलाई शिक्षण सिकाइ गर्न आग्रह गर्नुभयो । समय सुहाउँदो र गुणस्तरीय शिक्षाले नै देशमा दक्ष एवं सक्षम जनशक्ति उत्पादन गर्ने भन्दै नगर प्रमुख चौधरीले विद्यार्थी फेल भए अब शिक्षक पनि फेल भएको मानिने बताउनुभयो ।
त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले विद्यार्थीहरुलाई दबाबमा नभई बोध हुने वातावरणमा पठनपाठनमा ध्यान दिनुपर्ने बताउनुभयो । देश बनाउने आधार शिक्षकको हातमा रहेको भन्दै उहाँले नगरको शिक्षालाई उत्कृष्ठ बनाउन थप जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
त्यसैगरी, शिक्षक महासंघ घोराही नगरका संयोजक निशान्त आचार्यले शिक्षकको मेहनतविना शिक्षण सिकाइ र विद्यार्थीमा परिवर्तन आउन नसक्ने बताउनुभयो । तालिममा सहभागी शिक्षकहरु छविनारायण चौधरी र छमा पराजुलीले तालिमले आफूहरुलाई पृष्ठपोषण भएको बताउनुभयो । तालिमको प्रशिक्षकमा श्रीप्रसाद भट्टराई, नारायणप्रसाद पौडेल, रामहरि रिजाल, दुर्गा पाण्डे र पुष्कर अधिकारी रहनुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस