घोराही, १४ पुस । घोराही उपमहानगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बाह्रकुनेको विकासका लागि सवैको पहल र प्रयत्न हुनुपर्ने धारणा त्यहाँ आयोजित कार्यक्रमका बक्ताहरुले बताएका छन् । बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक समितिको शनिबार आयोजना गरिएको दशौं साधारणसभामा बोल्नेहरुले यस्तो धारणा राखेका हुन् ।

नेपालमै प्रख्यात धार्मिक क्षेत्रका रुपमा रहेर पनि ओझेलमा पारिएको भन्दै बाह्रकुनेको विकासका लागि राज्यको ध्यान कम पुगेको गुनासो पनि बक्ताहरुको थियो । घोराहीमा रहेका धार्मिक तथा पर्यटकियस्थल मध्य पुरानोमध्ये रहेको बराह क्षेत्रको विकासका लागि गुरुयोजना बनेको भए पनि बजेटको अभावमा अलपत्र परेको धारणा बक्ताहरुको थियो ।

अध्यक्ष गिरवहादुर घर्तीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समितिका सदस्य तिलाकुमारी बुढाले गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै घोराही उपमहानगरपालिका वडा नंं. १३ का अध्यक्ष रविलाल घर्तीले बाह्रकुने दहको विस्तार र विकासका लागि उपमहानगरपालिकाले पहल गरिरहेको भए पनि उपमहानगरपालिकाको पहलले मात्रै नपुग्ने धारणा राख्नुभयो । उहाँले बाह्रकुने दहको आकार ठूलो बनाउने योजना सुनाउनु भएको थियो । बाह्रकुनेमा पानी जम्मा पार्दा बाह्रकुनेदेखि तलतिरको भागका जनतालाई पानी र सिचाईको सुविधा बढ्ने धारणा पनि अध्यक्ष घर्तीको थियो । उहाँले बाह्रकुने दहको विकास र विस्तारका लागि सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा बोल्ने बक्ताहरुले बाह्रकुनेमा पर्यटकहरुको आगमन बढाउनका लागि समितिले पनि ठोस योजना ल्याउनुपर्ने बताएका थिए । बाह्रकुने दहको परिसरमा पिकनिक स्पटहरुको संख्या बृद्धि गर्नुपर्ने, पानी ट्याङ्की र धाराहरुको संख्या बढाएर पानीको आपूर्ति बढाउनुपर्ने, बाह्रकुने क्षेत्रको बनमा जडीवुटी रोपेर आय आर्जन बृद्धि गर्नुपर्ने धारणा बक्ताहरुले राखेका थिए ।

कार्यक्रममा डा. अजुर्न बुढाथोकी, मनोज बुढाथोकी, दयाजी रोकामगर, घनश्याम घिमिरेलगायतले बोल्नुभएको थियो । टोपबहादुर डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको साधारण सभामा सचिव भीमवहादुर केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्षमा दुईजनाको उमेदवारी
नयाँ नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रृया शुरु गरिए पनि अध्यक्षमा दुई जनाको निवेदन परेपछि निर्वाचन प्रक्रिया पछि सारिएको छ । शुरुमा जगत बम्पाल, टेमन बुढामगर र रामवहादुर श्रेष्ठको उमेदवारी परेको भए पनि बम्पालले उमेदवारी फिर्ता लिनुभएको थियो । टेमन र रामवहादुरले उमेदवारी फिर्ता नलिएपछि निर्वाचनको काम माघे संक्रान्तिपछि नयाँ कार्यसमिति चयन गर्ने योजना बनाइएको वडाध्यक्ष रविलाल घर्तीले जानकारी दिनुभयो । ११ सदस्यीय कार्यसमितिमा सदस्यहरुका लागि थप २७ जनाको उमेदवारी परेको छ । अध्यक्ष सहित ११ सदस्यीय कार्यसमिति चयन पश्चात अन्य पदाधिकारीको चयन गर्ने प्रक्रिया रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस