घोराही, ३१ वैशाख । पानीको स्रोत बढाउन र आयआर्जनमा टेवा पुर्‍याउन घोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा दर्जन बढी कृत्रिम जलाशयको निर्माण गरेको छ ।
उपमहानगरले घोराही क्षेत्रमा क्रमशः पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणमा जोड दिएको हो । घोराहीमा सहरी क्षेत्र विस्तार हुँदै गएपछि पानीको अभाव पनि बढ्न थालेको हुँदा नगरपालिकाले घोराहीका अधिका‌ंश स्थानमा कृत्रिम जलाशयको अवधारणा अगाडि सारेको हो ।जसमा नयाँ कृत्रिम जलाशय निर्माणदेखि पहिलेदेखि रहेको पानी पोखरी, दहहरुलाई थप मर्मत गरी उपयोगी जलाशय बनाउन थालेको हो । वर्षाको समयमा आकाशबाट आउने पानीलाई संकलन गरी स्थानीय जनताहरुको जीविकोपार्जन र आयआर्जनमा जोड दिने उद्देश्यले जलाशयको निर्माणलाई प्राथमिता दिएको घोराही उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार कार्यालयले अहिले घोराहीको वडा नम्वर १७ को ढिकपुर र गुलरिया, वडा नम्बर १६को गंगटे र ज्यामिरे भन्ने स्थानमा कृत्रिम जलाशय निर्माणको पक्रिया अगाडि बढाएको छ । यस्तै वडा नम्बर १८ को गिठेपानी, वडा नम्बर १२ को सिस्नेरीलगायतका स्थानमा नयाँ कृत्रिम जलाशय बनाउन लागेको उनले जानकारी दिए ।
इन्जिनियर श्रेष्ठका अनुसार उपमहानगरले वडा नम्बर १६को ज्यामिरेमा पहिलेदेखि नै रहेको थप दुईवटा जलाशय मर्मत गरिरहेको छ भने घोराही १७ गुलरियामा रहेको जलाशय, १६ को गंगटे, वडा नम्बर १८ को सल्लाघारी, डबरीलगायतका स्थानमा रहेको कृत्रिम जलाशयलाई थप निर्माण तथा ममर्त गरी सिंचाईको लागि पानी प्रशस्त बनाएको छ ।यी स्थानहरुमा बनाइएको जलाशयमा स्थानीयबासीले सिंचाई, माछापालन, तरकारी खेती, फलफूल खेती गरिहेको इन्जिनियर श्रेष्ठले बताए । ‘सिंचाई, व्यावसायिक टुरिजम, माछापालन, हाँसपालनका लागि हामीले कृत्रिम जलाशय निर्माण गरेका हौँ’ उनले भने ‘मुख्य कुरा जलवायु अनुकुलन कै लागि हो ।’
गाउँमा रहेको कुवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस् भनेर पनि कृत्रिम जलाशयमा उपमहानगरले लगानी गरेको उनले बताए । यस्तै पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र कलकारखानालाई आवश्यक पानीको आपूर्तिमा पनि यसले सहजता थपिरहेको उनको भनाइ छ ।अहिले ठाउँ ठाउँमा बनाइएको र बन्न थालेका कृत्रिम जलाशय एउटा सानो पर्यटकीय क्षेत्र जस्तो बन्न थालेको उनले बताए । ‘नगरपालिकाको आन्तरिक आयमा बृद्धि गर्न पनि जलाशयले टेवा पुर्‍याइरहेको छ’ उनले भने ‘जलाशयमा ढुङ्गा चलाउने, जाल हानेर माछा मार्ने कार्य अहिले पनि भैरहेको छ ।’
घोराही उपमहानगरले यस आर्थिक वर्षमा मात्रै करिव दुई करोड रुपैयाँ कृत्रिम जलाशयको लागि खर्च गर्दैछ । जसमा नयाँ बन्न थालेको र मर्मत सम्भार गरिने जलाशयहरु छन् ।
उपमहानगरले कृत्रिम जलाशय बनाउने काम करिव ६० प्रतिशत सकिएको र बाँकी पनि चाँडै सक्ने भन्दै तीव्र रुपमा काम गरिरहेको जनाएको छ । घोराहीमा रहेका जलाशयहरु चार/पाँच कठ्ठादेखि ५ विगाहा क्षेत्रफलसम्म फैलिएका छन् । अहिले जलाशयमा माछापालन, तरकारी खेती, मकै खेतीसँगै पर्यटकहरु घुम्न जाने केन्द्र बनेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस