घोराही, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले नेत्रलाल अभागीको जीवनी कम्युनिष्टहरुका लागि मार्गदर्शन भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी दाङले आइतबार घोराहीमा आयोजना गरेको दङाली कम्युनिष्ट आन्दोलनका अगुवा नेत्रलाल अभागीको ३४ औँ स्मृति दिवसमा बोल्दै ज्ञवालीले हिँजोको वलिदान र त्यागले अहिले सार्थकता पाएको उल्लेख गर्नुभयो ।
हिँजोका बलिदानलाई आज पनि कायम राख्दै प्राप्त उपलब्धिलाई संस्थागत र समाज रुपान्तरणको दिशामा कम्युनिष्ट पार्टी केन्द्रीत हुने उहाँले बताउनुभयो । अबको लक्ष्य जनतालाई संमृद्ध बनाउने भएको भन्दै स्थायी कमिटी सदस्य ज्ञवालीले राजनीतिक रुपमा देश सगरमाथाको चुचुरोमा पुगेको संज्ञा दिनुभयो ।

जनताले कम्युनिष्टलाई एक ढिक्का बनाउनमा योगदान गरेको भन्दै ज्ञवालीले अब जनतालाई कसरी समृद्ध बनाउने भन्ने विषयमा आफूहरु केन्द्रित हुने उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका नेता टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता ज्ञवालीले कम्युनिष्टहरुको सानलाई बचाएर देश विकासमा लाग्नु नै प्रमुख लक्ष्य हुने बताउनुभयो ।
कार्यक्रममा बोल्ने विभिन्न तहका नेताहरुले नेपाल कम्युनिष्ट पार्टीलाई बलियो बनाउन सबैको जिम्मेवारी उत्तिकै रहेको बताए । नेत्रलाल अभागीले देखाएको सपना आज दुई ठूला कम्युनिष्ट शक्तिहरु एक हुनु नै आज पूरा भएको धारणा राखे ।

कार्यक्रममा संघीय संसदका सांसद मेटमणि चौधरी, हिराचन्द्र चौधरी, प्रदेश सांसद अमरबहादुर डाँगी लगायतले अबको लक्ष्य जनताको सेवा भएको भन्दै काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण नेकपाका नेता सुवास पुनले गर्नुभएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछिको नेपाल कम्युनिष्ट पार्टीले आज नेत्रलाल अभागीको स्मृति दिवसलाई पहिलो कार्यक्रमका रुपमा मनाएको हो ।
Advertisements


