घोराही, १३ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएको छ । उहाँको बिहीवार विहान ३ बजेतिर ५० वर्षको उमेरमा निधन भएको हो । उहाँको धार्मिक परम्पराअनुसार शंखेपिपल घाटमा अन्त्येष्टि गरिएको छ । जण्डिसका बिरामी बुढाको भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटलमा उपचार गरी घर फर्किदै गर्दा बाटोमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगत ४/५ महिनादेखि बिरामी बुढाको काठमाडौँ, लखनउ, नयाँ दिल्ली र थाइल्याण्डमा उपचार गरिएको थियो ।
पूर्व नेकपा एमालेका घोराही नगर कमिटीका अध्यक्षसमेत हुनुभएका बुढालाई नेकपा दाङले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेको छ । भरतपुरस्थित नेकपाको पार्टी कार्यालयमा बुढाको पार्थिव शरीरमा नेकपाका स्थायी कमिटी सदस्य एवं पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । उहाँले श्रद्धाञ्जली व्यक्त गर्दै लछिनले पूर्व एमालेलाई घोराही नगरमा पुनर्जीवन दिने काम गरेको स्मरण गर्नुभयो ।
‘घोराही नगरमा पूर्व एमालेलाई पुनर्जीवित गर्ने कामले उहाँलाई वडा अध्यक्षकै रुपमा निर्वाचित हुन बल पुग्यो’ मुख्यमन्त्री पोख्रेलले भन्नुभयो ‘जनताको बीचमा कसरी काम गर्नुपर्छ भन्ने कुराको दृष्टान्त लछिनले दिनुभयो ।’ उहाँले जनताको काम गर्छु भन्नेहरुले लछिनका धेरै राम्रा कामहरुको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो अवस्थामा बाम गठबन्धनलाई बलियो बनाएर लैजान खेलेको भूमिका स्मरण गर्दै मुख्यमन्त्री पोख्रेलले लछिनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । साथै उहाँले परिवारजनप्रति समवेदना र दिवंगत आत्माप्रति श्रदाञ्जली व्यक्त गर्नुभएको थियो ।
नेकपाको पार्टी कार्यालयमा मध्यान्न १२ बजेदेखि श्रद्धाञ्जलीका लागि लछिनको पार्थिव शरीर एकघण्टा राखिएको थियो । उहाँप्रति प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य उत्तरकुमार ओली, नेकपाका केन्द्रीय सदस्यहरु भागवत विश्वासी, निर्मल आचार्य, हेमराज शर्मा डायमण्ड, जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, जिल्ला कार्यदलका सदस्यहरुलगायत नेकपाका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरुले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
शोकमा कामकाज बन्द
यसैबीच वडाध्यक्ष बुढाको निधनमा शोक व्यक्त गर्दै घोराही उपमहानगरपालिकाले बिहीवार कार्यालय बन्द गर‍‍्‍‍यो । नगर कार्यपालिकाको आकस्मिक बैठकले वडाध्यक्षको निधनप्रति शोक प्रस्ताव पारित गर्दै एकदिन कामकाज नगर्ने र तीनदिनसम्म झण्डा झुकाउने र १३ दिनसम्म कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त
प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले वडाध्यक्ष बुढाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बिहीवार शोक विज्ञप्ति जारी गर्दै उहाँले बुढाको निधनले असल जनप्रतिनिधि गुमाएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा असल जनप्रतिनिधि र जिल्लाको कम्युनिष्ट आन्दोलनका सक्रिय र निष्ठावान कार्यकर्तालाई गुमाउनुपरेको भन्दै समग्र कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ ।
छाना लगाएर गए
पार्टी नेतृत्व हुँदा वा नहुँदा लछिनप्रसाद बुढा सहयोगी हुनुहुन्थ्यो । सहयोग चाहिएको ठाउँमा आफैले आर्थिक, भौतिक सहयोग गर्ने उहाँको स्वभावले होला लछिन बुढा पार्टी पंक्तिमा मात्रै होइन समाजमा सरल, मिजासिला भनी चिनिनुहुन्थ्यो । फरक विचार राख्नेहरुसँग पनि भाइचारा, सहयोगी भावना जोड्नसक्ने लछिन २०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनमा वडा नं. १६ को अध्यक्षमा भारी मतसहित विजयी हुनुभयो । असार २५ गते कार्यभार सम्हालेका बुढाले वर्षदिनमै वडा नं. १६ लाई खरको छानामुक्त वडा घोषणा गर्न सफल हुनुभयो । खरको छानोमुक्त घोषणा हुनुअघि नै बिरामीले थलिनुभएका लछिनले सबै चुनावी एजेण्डालाई पूरा त गर्न रोगले दिएन तर गरिब, बिपन्न ६१ घर परिवारलाई टिनको छाना दिएर जानुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस