घोराही, ३० फागुन । दाङ क्रिकेट संघको प्राविधिक सहयोग र त्रिभुवननगर जेसीजको आयोजनामा फागुन २६ गतेदेखि सुरु भएको जेसीजकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकाडेमी विजयी भएको छ ।

आज भएको खेलमा कृष्ण कार्कीले ९ चौका र ४ छक्काको मद्दतले २४ बलमा ७९ रनको उत्कृट इनिंग खेल्दै न्यू होराइजनलाई क्वाटर फाइनलमा प्रवेश गराएका छन् । आजको खेलमा ज्ञानज्योतिलाई ३२ रनले हराउँदै न्यू होराइजन विजयी भएको हो ।

पब्लिक ज्ञानज्योतिले टस जितेर पहिले फिल्डिङ रोजेकोमा न्यू होराइजनले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४७ रन जोडेको थियो । न्यू होराइजनका कृष्ण कार्कीले ७९, सुसन भारीले १५ रन जोडेका थिए भने पब्लिक ज्ञानज्योतिका विक्रक ठकुन्ना र हासिम अन्सारीले २/२ विकेट लिएका थिए ।

१४८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पब्लिक ज्ञानज्योतिले २० ओभर खेल्दै ११५ रन जोडेको थियो । पब्लिक ज्ञानज्योतिका तर्फबाट हासिम अन्सारीले ३६, भीम सार्कीले ३१ र दीपेश शाक्यले २५ रन जोडेका थिए ।

यस्तै न्यू होराइजनका सुसन भारीले ४ र गणेश गौडेलले २ विकटे लिएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने कृष्ण कार्कीलाई म्यान अफ द म्याच घोषित गरिएको थियो ।

प्रतियोगिताको पहिलो चरणका सबै खेल सकिएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभएको छ ।

भोलिदेखि क्वाटर फाइनलका खेलहरु हुने आयोजकले बताएको छ । भोलिको खेलमा धनगढी क्रिकेट क्लब र होलील्याण्ड नेपालगञ्ज तथा युएनबिसी घोराही र न्यू होराइजन क्रिकेट क्लबकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस