घोराही, ३ चैत्र । दाङको घोराहीमा जारी जेसीज कप क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा जगबार क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार भएको सेमिफाइनल खेलमा कर्णाली प्रदेश क्रिकेट क्लबलाई हराउँदै जगबार क्रिकेट क्लब तथा न्यू होराइजन क्रिकेट एकेडेमीलाई हराउँदै धनगढी क्रिकेट एकेडेमी फाइनलमा प्रवेश गरेका हुन् ।

सेमिफाइनलअन्तर्गत शनिबार भएको पहिलो खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीलाई १० विकेटले धनगढी क्रिकेट एकेडेमीले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको न्यू होराइजन क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा ९८ रन बनाएको थियो । जसका लागि नुर्घोज सेनले २१ र सोनु अन्सारीले १५ रन बनाएका थिए ।

सो क्रममा धनगढी क्रिकेट एकेडेमीका भुवन कार्की र महेश अधिकारीले २/२ विकेट लिएका थिए ।

९९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको धनगढी क्रिकेट एकेडेमीले १३ ओभरमा १०१ रन बनाउन सफल भएको थियो । जसका लागि धनगढी क्रिकेट एकेडेमीका रोमन बमले ६ चौका र ३ चौकाको सहयोगमा ५६ रन बनाएका थिए भने विपिन रावलले ५ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाएका थिए ।

खेलमा ५६ रन बनाउने रोमन बम म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसैगरी कर्णाली प्रदेश क्लब र जगबार क्रिकेट क्लबबीच भएको दोस्रो खेलमा   जगबार क्रिकेट क्लबले ४ विकेटले खेल जितेको छ । टस जितेर पहिले व्याटिङ गरेको कर्णाली प्रदेश क्लबले १९.५ ओभरमा पूरै १० विकेटको क्षतिमा जम्मा ९७ रन बनाएको थियो ।

जसका लागि विजय विष्टले ३ चौकासहित २८, जितेन्द्र शाहीले १ छक्कासहित १६, निश्चल रावलले १ चौकासहित १० रन जोडे भने जगबार क्रिकेट क्लबका सुनिल सुनारले ४ ओभरमा ५ विकेट, रमेश सिंह र रोशनकुमार शाहले १/१ विकेट लिएका थिए ।

९८ रनको विजयी लक्ष्य पछ्याएको जगबार क्रिकेट क्लबले १७.४ ओभरमा ९९ रन बनाउँदै विजयी भएको थियो । जसका लागि शेरबहादुर वलीले ६ चौकाको सहयोगमा ४४ र शाहीद अन्सारीले १७ रन जोडे ।

कर्णाली प्रदेश क्लबका चन्द्र बिसी र टंक सलामीले २/२ विकेट लिएका थिए । खेलमा ५ विकेट लिएका ज्यागुयर क्रिकेट क्लबका सुनिल सुनार म्यानअफ द म्याच घोषित भए ।

त्रिभुवननगर जेसीजको आयोजनामा फागुन २६ गतेदेखि सुरु भएको प्रतियोगिताको दाङ क्रिकेट संघले प्राविधिक सहयोग गर्दै आएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस