लक्ष्मण बस्नेत
तुलसीपुर, ८ वैशाख । जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधी गोरखा मावि तुलसीपुरले चुमेको छ । खेलकुद विकास समिति दाङको आयोजनामा भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र १ कास्य पदक हात पार्दै गोरखा मावि तुलसीपुरले उपाधी चुमेको हो ।

एथलेटिक्सका विभिन्न स्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको गोरखाले रनिङ शिल्ड, ट्रफीसँगै नगद ३५ हजार हात पारेको हो । त्यस्तै ज्ञानोदय मावि पत्थरगढवा ४ स्वर्ण, १ रजत, १ कास्य पदक हात पार्दै रनिङ शिल्डको उपविजेता बनेको छ । उसले नगद २० हजार, ट्रफी हात पार्‍यो भने बालजनता माविले ३ स्वर्ण, १ रजत र २ काश्य पदक हात पार्दै तृतीय स्थान हासिल गरेको छ ।
बैशाख ६ गतेदेखि बेल्झुण्डी खेलमैदानमा सञ्चालित प्रतियोगिताको भलिबल छात्रतर्फ साविक विजेता ज्ञानोदय मावि पत्थरगढवाले प्रथम स्थान हासिल गर्न सफल भयो । आदर्श माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै ज्ञानोदय माविले प्रथम स्थान हासिल गरेको हो ।
त्यस्तै छात्रातर्फको फाइनलमा मावि श्रीगाउँलाई ३–० को सोझो सेटमा पराजित गर्दै मिडवेस्ट एकाडेमी खैरेनी प्रथम स्थान हासिल गर्न सफल भयो भने छात्रा कबडीतर्फ गुरुजजुर मावि रक्षाचौर प्रथम, मावि भ्युडहर सुनपुर द्वितीय र कालाकाँटे मावि तृतीय भए । छात्रतर्फ भने महेन्द्र मावि प्रथम, प्रहरी स्कुल द्वितीय र सरस्वती मावि भरतपुर तृतीय भए ।
त्यस्तै तेक्वान्दोतर्फ महेन्द्र मावि तुलसीपुरले प्रथम स्थान हात पारेको छ । उसले ३ स्वर्ण र १ काश्य पदक प्राप्त गर्न सफल भयो । हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुरले १ स्वर्ण, २ रजत र १ काश्य पदकका साथ द्वितीय र १ स्वर्ण पदक मात्र हात पारेका गोरखा मावि तुलसीपुर तृतीय भए । तेक्वान्दो खेलमा महिलातर्फ सुष्मा सुनार र पुरुषतर्फ स्वागत परियार उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै कराँते खेलतर्फ गोरखा मावि घोराही प्रथम, गुरुकुल एकाडेमी घोराही द्वितीय र सहिद स्मृति आवासीय मावि तृतीय भएका छन् । कराँतेतर्फ पुरुषतर्फ गोरखा मावि घोराहीका विगत पुन र महिलातर्फ गुरुकुल एकाडेमीकी निसाना रोकामगर उत्कृष्ट खेलाडी बन्न सफल हुनुभएको छ ।
त्यसैगरी एथ्लेटिक्सतर्फको खेलमा गोरखा मावि तुलसीपुर ७ स्वर्ण, ६ रजत र १ काश्य पदक हात पार्दै प्रथम, ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको ज्ञानोदय माबि द्वितीय र ३ स्वर्ण, १ रजत र २ काश्य पदक हात पारेको बाल जनता मावि बनगाउँ तृतीय भयो । एथ्लेटिक्सको छात्रतर्फ गोरखा मावि तुलसीपुरका लेखनाथ महर र छात्रातर्फ सोही विद्यालयका अरुणा रिजाल उत्कृष्ट खेलाडी घोषित भए ।
जिल्लास्तरीय प्रतियोगितामा छनोट भएका खेलाडीहरुले आगामी प्रदेश नम्बर ५ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनेछन् । यसैबीच जिल्ला खेलकुद विकास समिति दाङ अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्य एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस