घोराही, १५ मङ्सिर । त्रिभुवननगर जेसीजको आयोजनामा दाङको घोराहीमा भएको जेसीज हाप म्याराथनमा काठमाडौँका रमेश मुगरती प्रथम हुनुभएको छ । १०० बढी प्रतिस्पर्धीलाई उछिन्दै उहाँले २१ किलोमिटरको दुरी १ घण्टा १० मिनेट ४५ सेकेण्डमा पार गर्नुभएको थियो । त्यसैगरी काठमाडौँकै सुवास कार्की १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा दुरी पार गरी दोस्रो र ओमप्रकाश जोशी १ घण्टा १५ मिनेट ६ सकेण्डमा दुरी पार गरी तृतीय हुनुभएको छ ।
त्यस्तै महिलातर्फ प्रहरी बोर्डिङका सर्मिला घर्ती प्रथम, स्यालुट गोर्खाका बिपना केसी द्वितीय र लोटस ट्रेनिङ सेन्टरका देविका वली तृतीय हुनुभएको छ । उहाँहरुले क्रमशः १ घण्टा ४२ मिनेट २६ सकेण्ड, १ घण्टा ४३ मिनेट १३ सकेण्ड र १ घण्टा ४५ मिनेट १२ सकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो ।बालबालिकाको ५ किलोमिटर केटातर्फ पद्मोदय पब्लिक घोराहीका सुनित चौधरी प्रथम, शान्ति सुधा बोर्डिङका सनम वली द्वितीय र गोरखा माविका क्षितिज चौधरी तृतीय हुनुभएको छ । त्यसैगरी केटीतर्फ पद्मोदय पब्लिक घोराहीका अरुणिमा घर्ती मगर प्रथम, बाल विकास मावि घोराहीका एलिना बुढा द्वितीय र दीपशिखा मा.वि.का मञ्जिता अर्याल तृतीय हुनुभएको छ ।
प्रतियोगितामा २१ किलोमिटर महिला र पुरुषतर्फका प्रथम, द्वितीय र तृतीय विजेताहरुले क्रमशः २५ हजार, २० हजार र ५ हजार नगदका साथै शिल्ड एवं प्रमाणपत्र हात पानुर््भएको छ । त्यसैगरी बालबालिकाको ५ किलोमिटर बालक र बालिकातर्फका प्रथम, द्वितीय र तृतीय विजेताहरुले क्रमशः ५ हजार, २ हजार र १ हजार नगदका साथै शिल्ड एवं प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि नरुलाल चौधरीले खेलकूदमा त्रिभुवननगर जेसीजले गरेको योगदान प्रशंसनीय रहेको बताउँदै मानव स्वास्थ्य एवं राष्ट्रिय एकताका लागि खेलको महत्वपूर्ण रहेको बताउनुभयो । खेल र स्वास्थ्य एकअर्काका परिपूरक रहेको बताउँदै प्रमुख चौधरीले खेलमा गरिएको लगानी कहिल्यै पनि खेर नजाने बताउनुभयो ।विशिष्ट अतिथिको आसनबाट बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका साथै सामाजिक कार्यमा जेसीजले खेलेको भूमिकाको सराहाना गर्नुभयो ।
त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं त्रिभुवननगर जेसीजका सचिव टंक रावतले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुलाई जेसीजका कार्यकारिणी उपाध्यक्ष मिनराज भाटले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


