किरण गौतम

घोराही, १३ चैत । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बालश्रम अन्त्यका लागि अभिभावकहरुको चेतनास्तर बृद्धि प्रमुख प्राथमिकता हुनुपर्ने बताउनुभयो । युनिसेफको सहयोग तथा सिविसको आयोजनामा दाङको घोराहीमा सुरु भएको दुईदिने ‘तथ्याङ्क सङ्कलन, दस्तावेजीकरण तथा प्रतिवेदन लेखन तालिम’को उद्घाटन गर्दै नगरप्रमुख चौधरीले बालश्रम अन्त्य गरे मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

मानव शंसाधन विकास नै राज्यको समृद्धिको आधार भएको बताउँदै प्रमुख चौधरीले बालबालिकाहरुमा लगानी गरे भोलिको देशको समृद्धि सुनिश्चित हुने धारणा राख्नुभयो । जोखिममा रहेका बालबालिकाहरुलाई तत्काल उद्धार गरी सुरक्षित गर्ने गरी बालबालिकासँग क्रियाशील संघसंस्थाहरुसँग सँगै अगाडि बढ्न आफू आतुर भएको बताउँदै चौधरीले समुन्नत समाज निर्माणका लागि बालबालिकामा लगानी गर्नुपर्ने बताउनुभयो । परिवारमा बालमैत्री वातावरण नहुँदा एवं अभिभावकले बालबालिकालाई हेरचाहमा ध्यान नदिँदा बालबालिकाहरु श्रम शोषणमा पर्ने गरेको हुँदा अभिभावक केन्द्रित कार्यक्रमहरुमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै युनिसेफ नेपालका बाल संरक्षण अधिकृत शिवशङ्कर डङ्गोलले बालश्रम अन्त्यका लागि युनिसेफले क्षमता अभिबृद्धिका कार्यक्रम, सूचना व्यवस्थापन प्रणालीको विकास गर्ने, व्यवहार परिवर्तनका लागि सूचना दिने खालका कार्यक्रम, सीपमूलक तालिम, सरकारलाई सहयोग गर्नेलगायतका विभिन्न खालका कार्यक्रममा सहयोग गर्दै आएको बताउनुभयो । साथै उहाँले युनिसेफले आफ्नो दायरालाई बढाउँदै सामाजिक सुरक्षाका क्षेत्रमा समेत काम गरिरहेको धारणा राख्नुभयो । अहिलेसम्म ६ हजार बालबालिकाहरुलाई घटना व्यवस्थापन प्रक्रियामा लगी आवश्यक सेवा दिइएको, ४ हजार बालमजदुरहरुलाई औपचारिक शिक्षामा जोडिएको, व्यवहार परिवर्तनका लागि घरदैलोमा पुगी सचेतना दिने काम भइरहेको उहाँले बताउनुभयो ।बालश्रम विज्ञ उद्धवराज पौडेलले बाल संरक्षणका क्षेत्रमा भएका कामहरुलाई राम्रोसँग अभिलेखीकरण गरी प्रतिवेदन लेख्नलाई सहज बनाउनका लागि तालिम फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो । बालमैत्री स्थानीय स्थितिपत्र तयार पार्दाका विभिन्न समस्याहरु खड्किरहँदा कार्यक्रम आयोजना गर्नु परेको उहाँको धारणा थियो ।

समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस)का कार्यकारी निर्देशक डा. अशोक पाण्डेले बाल संरक्षणका क्षेत्रमा हालसम्म भएका उपलब्धिहरुलाई सुरक्षित गर्न यो तालिम आयोजना गरिएको बताउनुभयो । दिनरात खटेर भएका कामहरुलाई व्यवस्थित रुपमा दस्तावेजीकरण गर्न तालिम उपलब्धीपूर्ण रहने अपेक्षा राखेको बताउँदै उहाँले आजका दिनमा भएका कामहरु सुरक्षित राख्न सके वर्षौंपछिसम्मका लागि समेत उपयोगी हुने बताउनुभयो । युनिसेफ नेपालबाट बाल संरक्षण कार्यक्रम सञ्चालन भइरहेका १६ वटा नगरपालिकामा तथ्याङ्क सङ्कलन, दस्तावेजीकरण तथा रिपोर्टिङ कार्यलाई सहज बनाउनका लागि तालिम आयोजना गरिएको बताउँदै कार्यक्रमको अध्यक्ष समेत रहनुभएको डा. पाण्डेले तालिमले बाल संरक्षणका क्षेत्रमा भएका उपलब्धिहरुलाई दस्तावेजीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

सिविसका कार्यक्रम अधिकृत भरत अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सिविसका परामर्शदाता रमेश पौडेल गर्नुभएको भएको थियो । कार्यक्रममा पूर्व विराटनगरदेखि पश्चिम बैतडीसम्मका १६ वटा नगरपालिकाकाका प्रतिनिधि तथा बाल संरक्षण कार्यक्रम सञ्चालन गरिरहेका साझेदार संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा बालअधिकार विज्ञ उद्धवराज पौडेल, रमेश पौडेल र डा. अशोक पाण्डे रहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस