दाङ, १२ वैशाख । घोराही दाङमा सञ्चालित बुद्ध इन्टरनेशनल हस्पिटलका विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले भोजराज थापाद्वारा सञ्चालित मेचीकाली खबरलाई कारबाहीको चेतावनी दिएको छ । स्वास्थ्य सेवाको विषयलाई लिएर मेचीकाली खबर डटकमको अफिसियल युट्युव च्यानलबाट पटक पटक प्रशारण भएको सामग्रीको विषयमा प्रेस काउन्सिल नेपालले सञ्चालकलाई सचेत हुन निर्देशन दिएको हो ।

प्रेस काउन्सिल नेपाल आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले वैशाख ९ गते सचेत पत्र लेख्दै युट्युबमा प्रशारित सामग्री एक पक्षीय, असन्तुलित र तथ्य भन्दा बाहिर सम्प्रेषण भएको प्रतिक्रिया खण्डित हुने आधार, प्रमाण नदेखिएको र पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै आउँदा दिनमा त्यसो नगरिए पत्रकार आचार संहिताबमोजिम कारवाही हुने चेतावनी समेत दिनुभएको छ ।

सचेत पत्रमा भनिएको छ–‘समाचारसँग सम्बन्धित पक्षबाट कुनै प्रतिक्रिया वा खण्डन प्राप्त भएमा उक्त प्रतिक्रिया वा खण्डनलाई उचित स्थान दिनु पत्रकार तथा सञ्चार माध्यमको कर्तव्य हुने पत्रकार आचारसंहिताको व्यवस्था रहेको हुँदा आगामी दिनमा सम्बन्धित पक्षको भनाइलाई स्थान दिन, तथ्यपूर्ण र सन्तुलित सामग्री प्रसारण गर्न/गराउन अन्यथा प्रचलित कानुन एवं पत्रकार आचारसंहिता बमोजिम थप कारवाही हुनेतर्फ निर्देशानुसार सचेत गराइन्छ ।’

दाङको घोराहीस्थित बुद्ध इन्टरनेश्नल हस्पिटल र त्यहाँ कार्यरत डाक्टरको विषयमा तथ्य बिपरित लान्छित गरेको भन्दै नेपाल चिकित्सक संघले मेचीकाली खबर डटकम र त्यसकै अफिसियल युट्युब च्यानलका सञ्चालक भोजराज थापामाथि कारवाहीको माग गर्दै प्रेस काउन्सिल नेपालमा २०८० चैत १ गते उजुरी दिएको थियो । उजुरीमा स्वास्थ्य उपचार जस्तो गम्भीर विषयमा तथ्य नै नबुझी चिकित्सा विज्ञानप्रति नै जनविश्वास गुम्नेगरी दुष्प्रचार गरिएकोले युट्युब च्यानल तथा सञ्चालक भोजराज थापामाथि कारवाहीको माग गरिएको थियो । २०८० फागुन ३० गते उपचारको क्रममा एक बालकको मृत्यु भएको विषयमा थापाले एकपक्षीयरुपमा समाचार बनाएको चिकित्सक संघको आरोप छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस