दाङ, १० जेठ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा अध्ययनरत किशोरीहरुलाई आज महिनावारीसम्बन्धी अभिमुखिकरण गरिएको छ । ज्ञानमाला किशोरी समूहले आयोजना गरेको कार्यक्रममा पहिलो महिनावारीको तनाव व्यवस्थापन, महिनावारीको समयमा गरिने सरसफाई र महिनावारी सम्बन्धी परम्परागत अभ्यासबारे प्रशिक्षण दिइएको थियो ।
किशोरी क्लवकी अध्यक्ष सस्मिता डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आरेककी मनोविमर्शकर्ता सुशीला आचार्यले महिनावारीसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । आचार्यले महिनावारी अवस्थालाई पाप या लाजका रुपमा नलिई स्वाभाविक प्राकृतिक प्रक्रियाका रुपमा स्वीकार गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
किशोरी क्लवकी कोषाध्यक्ष निशा विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शिक्षक विमला केसीले महिनावारी सम्बन्धी अनुभव र समाजको बुझाइबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन किशोरी क्लवकी सचिव सपना सुनारले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक शारदा भण्डारीले प्रशिक्षक आचार्यलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।












