प्रश्न : मेरो बच्चा ४ वर्षको भयाे। सास फेर्ने क्रममा घ्यारघ्यार गर्छ किन होला? उपचार के हो?


उत्तर : बच्चाहरुमा सास फेर्ने क्रममा घ्यारघ्यार हुनु, घुर्नका साथै विभिन्न प्रकारका आवाज सुनिने गर्छ । यी आवाजहरुले कुनै रोगको संकेत गरिरहेका हुन्छन्। धेरै सानो बच्चामा नाक बन्द भएर सुनिने आवाज बाहेक यसरी सुनिने आवाजलाई दुई भागमा बाँड्न सकिन्छ। श्वास भित्र लिँदा सुनिने आवाजलाई ‘स्ट्राइडर’ भनिन्छ भने बाहिर फाल्दा सुनिने आवाजलाई ‘हिवज’ भनिन्छ।

स्ट्राइडर के हो ?

यो एक किसिमको तिखो र रुखो आवाज हो, जुन श्वास भित्र लिँदा सुनिन्छ। यसले श्वासनलीको उपल्लो भागमा केही समस्या भएको इंगित गर्छ । कतिपय बच्चाहरुमा यो आवाज लामो समयसम्म वा पटकपटक दोहोरिइराख्ने खालको पनि हुन सक्छ।

यसका मुख्य कारणहरुः

१. श्वासनलीको संक्रमण

२. श्वासनलीमा अवरोध पुर्‍याउने कुनै अवस्था

–    ल्यारिङ्गेमलिसिया
–    श्वासनलीमा मासु पलाउनु
–    श्वासनलीमा पानी भरिएको फोका
–    श्वासनलीमा जाने नसामा समस्या

३. श्वासनलीमा बाह्य वस्तुको अवरोध

–    कुनै चिज अड्किएर अवरोध भएमा ।

४. श्वासनलीभन्दा बाह्य कारण

–    छातीको भित्री भागमा कुनै मासु पलाएर श्वासनलीलाई बाहिरबाट थिचेर अवरोध पुर्‍याउनु।
–    फोक्सोमा दीर्घ किसिमको समस्या हुनु ।
–    थाइराइड ग्रन्थि बढेर अवरोध पुर्‍याउनु ।

५. अन्य

–    खाना फर्किने समस्या
–    जिब्रोको आकार सामान्यभन्दा ठूलो हुनु।
–    रगतमा क्याल्सियमको मात्रामा कमी हुनु।

कसरी थाहा पाउने ? 

सामान्यतया उमेर, यसको प्रस्तुति र यससँग जोडिएका अन्य समस्या केलाउँदा कुन कारणबाट यस्तो भएको हुनसक्छ भन्ने निदान गरिन्छ । तर, बच्चालाई घ्यारघ्यार हुने समस्या देखिएपछि आमा–बुबाले त्यसबारे बालरोग विशेषज्ञसँग तत्काल परामर्श लिनुपर्छ। किनभने श्वासनलीमा संक्रमण भएर आउने यस्तो समस्याबाट बच्चाको श्वासनली अचानक बन्द हुन गई तत्काल क्रृत्रिम श्वास प्रश्वास दिनुपर्ने अवस्था समेत आउन सक्छ।

यस्तो समस्या धेरै सानो उमेरका बच्चामा जन्मजात श्वासनलीको बनावटले गर्दा हुनसक्छ भने अलि ठूला बच्चाहरुमा कुनै बाह्य वस्तुको अवरोधका कारण हुन सक्छ। यदि बच्चालाई ज्वरो आएको छ भने श्वासनलीको संक्रमण यसको प्रमुख कारण हुन सक्छ ।

उपचार

‘स्ट्राइडर’ जुनसुकै कारणले सुनिए पनि बच्चाको ज्यानलाई नै जोखिम हुने कारण छ कि छैन भनेर छुट्याउनु अत्यन्तै महत्वपूर्ण हुन्छ । सम्बन्धित विशेषज्ञसँग परामर्श नगरी यो कुरा थाहा पाउन सम्भव हुँदैन । बालरोग विशेषज्ञ र नाक–कान–घाँटी रोग विशेषज्ञसँग नै बच्चाको जाँच गराउनु आवश्यक हुन्छ ।

स्ट्राइडरको उपचार निम्न विधिबाट गरिन्छः 

१. जन्मजात रुपमा श्वासनलीको बनावटमा समस्या वा मासु तथा पानीको फोकाका कारणबाट आउने यस्तो समस्याको उपचार सामान्यतया शल्यक्रियाको माध्यमबाट गरिन्छ ।

२. कुनै बाह्य वस्तुको अवरोधले ‘स्ट्राइडर’ भएको हो भने सो अवरोधलाई चिकित्सकीय पद्धतिबाट हटाउनुपर्छ ।

३. संक्रमणको कारणबाट उत्पन्न समस्याको उपचार औषधी तथा अक्सिजन आदिबाट इमर्जेन्सीमा गरिन्छ । अवस्था अनुसार कुनै बेला बच्चालाई सघन कक्ष (आइसियू) मा भर्ना गरेर पनि उपचार गर्नुपर्ने हुनसक्छ ।

सन्देश

बच्चामा श्वास फेर्दा सुनिने घ्यारघ्यार आवाज सबै एकै प्रकारको नहुन सक्छ। यस्तो समस्या के कारणले भएको हो, त्यसको जतिसक्दो चाँडो निदान हुन अत्यन्त जरुरी हुन्छ। यस्तो भएमा मात्र बच्चाले सही उपचार पाउन सक्छ । यो समस्या हुँदा कतिपय अवस्थामा श्वास प्रश्वास नै बन्द हुनसक्ने सम्मको अवस्था निम्तने भएकोले समयमा उपचार पाएमा बच्चालाई खतराबाट जोगाउन सकिन्छ।

– डा विश्ववन्धु बगाले

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस