दाङ, २२ पुस । घोराही उपमहानगरपालिका वडा नं. ११ वडा अन्तर्गत पर्ने मुख्य सडकमा ट्राफिक सङ्केतहरु राखिएको छ । अस्थायी ट्राफिक प्रहरीपोष्ट नारायणपुरको पहल तथा घोराही उपमहानगरपालिका वडा नं. ११ को सहयोगमा घोराही–तुलसीपुर सडकखण्डमा ती सङ्केतहरु राखिएको वडा अध्यक्ष कुलबहादुर लामिछानेले जानकारी दिनुभयो ।

सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत ट्राफिक चिन्ह अङ्कित ७ वटा होर्डिङ बोर्डहरु राखिएको अध्यक्ष लामिछानेले बताउनुभयो । घोराही तुलसीपुर सडकखण्डको डोक्रेना चौकदेखि हापुरखोलासम्म त्यस्ता सङ्केतहरु राखिएको छ । प्रहरी निरीक्षक मदनबहादुर कुवँर र वडा अध्यक्ष कुलबहादुर लामिछानेले एक कार्यक्रमका बीच संयुक्त रुपमा वडा नं. ११ को खैरा चौकमा ट्राफिक सङ्केत अङ्कित होडिङ बोर्ड स्थापना गर्नुभएको थियो । साथै अन्य छ स्थानमा बस बिसौनी र विभिन्न सङ्केत अङ्कित बोर्डहरु राखिएको अध्यक्ष लामिछानेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले बढ्दो सवारी दुर्घटना न्युनीकरणका लागि वडाले बोर्डहरु राखेको बताउनुभयो । उपमहानगरपालिकामा सबैभन्दा पहिले आफ्नो वडाले दुर्घटना न्युनीकरणका लागि यस किसिमको अभ्यासको थालनी गरेको बताउँदै उहाँले आगामी दिनमा सडक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखी योजना निर्माण गरिने धारणा राख्नुभयो ।

कार्यक्रमको सहजीकरण ट्राफिक प्रहरीपोष्ट नारायणपुरका प्रहरी नायव निरीक्षक नन्दकुमार पोख्रेलले गर्नुभएको थियो । उक्त अवसरमा इप्रका नारायणपुरका इन्चार्ज भीमबहादुर सुनार, वडा नं. ११ का वडा सदस्य चित्रबहादुर डाँगी, स्थानीय उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजिवीलगायतको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस