घोराही, २६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानीअम्बापुरमा शनिबार निःशुल्क आँखा जाँच शिविर भएको छ । शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाको आयोजनामा भएको आँखा शिविरमा २ सय २४ जनाले उपचार सेवा लिएका छन् । तीमध्ये ३१ जनामा मोतीया बिन्दु देखिएको र उनीहरुलाई सोमबार राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरमा बोलाइएको छ ।

आँखा अस्पतालका नेत्र बिषेशज्ञ डा. सुरेश रसाईली, नेत्र अधिकृत शालिकराम गौतम, नेत्र सहायक रोहित कडायत, बाह्य कार्यक्रम सहायक बिष्णुप्रसाद खनाल, नेत्र सहायक प्रशिक्षार्थीहरु मिरा चौधरी र प्रतिक्षा रावलले उपचार तथा जाँचमा खट्नुभएको थियो । त्यसैगरी, घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद घर्ती, ठाकुर खनाल, कुमार डाँगी, गिता पोख्रेल, कलमघारी शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज तुलसा डाँगी र भ्यूडर शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज शिशिर अर्यालले उपचारमा सहयोगी भूमिका निभाउनुभएको थियो ।

शिबिरमा आँखा चिलाउने, एलर्जी, आँखा सुख्खा हुने, आँशु झर्ने लगाएतका समस्या भेटिएको र उनिहरुलाई निशुल्क औषधी प्रदान गरिएको शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाकी इन्चार्ज तोला केसीले जानकारी दिनुभयो । गाउँघरमै आँखाको जाँच तथा परामर्श सहित औषधी पाएपछि नागरिकहरु खुसी भएका छन् । वडा नम्बर १६ का कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र नेत्र बिषेशज्ञ डाक्टर सुरेश रसाईलीको बिशिष्ट आतिथ्यतामा शिबिर गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले नगरबासीहरुलाई कुनै पनि उपचारहरुबाट बन्चीत हुनु नपर्ने बताउनुभयो । विभिन्न माध्यमबाट नागरिकहरुको स्वास्थ्यलाई उपचार सँग जोड्नका लागि नगर प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले आँखाको हेरचाह, सरसफाई र होसियारी अपनाउन पनि आग्रह गर्नुभएको छ । नेत्र बिषेशज्ञ डा. रसाईलीले जिल्लालाई नै मोतिया बिन्दु मुक्त बनाउन लागि परेको जानकारी दिनुभयो ।

वडा सदस्य मंगल थारुको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाकी इन्चार्ज तोला केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस