भुवन के.सी.

रोल्पा, २३ फागुन । रोल्पामा बिहीवार तीनवटा बम फेला परेका छन् । दुईवटा सकेट र एक ग्रिनेट बम गरी तीनवटा बम फेला परेका हुन् । लिबाङस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय भवन नजिकै बारीमा ग्रिनेट बम फेला परेपछि दिनभर उक्त क्षेत्र तनावग्रस्त भएको थियो । बेलुका ५ बजे मात्र उक्त बम डिस्पोज भएको छ ।

खडक दल गणको डिष्पोजल टोलीले उक्त बम डिष्पोज गरेको हो । उक्त क्षेत्रमा राति बम राखेको भनेर फोनमार्फत प्रहरीलाई एक ब्यक्तिले जानकारी दिएपछि प्रहरी परिचालन गर्दा बम फेला परेको प्रनाउ दीपक खड्काले बताउनुभयो ।
यसैगरी त्रिवेणी गाउँपालिकाको कार्यालयनजिक पनि दुई वटा सकेट बम फेला परेका छन्। उक्त बम पनि बिहीवार नै डिष्पोज गरिएको प्रनाउ खड्काले बताउनुभयो ।

प्रहरीका अनुसार घटनाको जिम्मेवारी कसैले नलिए पनि नेत्रविक्रम चन्द बिप्लव समुहले नै बम राखेको हुनसक्ने आंशका गरिएको छ । सरकारी गाडीहरुमाथि आगजनी तथा तोडफोड हुनु, डोजर जलाउनेदेखि लिएर बम राख्ने जस्ता कार्यहरु गर्नु अमानवीय ब्यवहार भएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताउनुभयो ।

समाजमा शान्ति खलल पुर्‍याउने कार्य जोसुकैले पनि गर्नु ठीक नभएको उहाँको भनाइ छ । रोल्पाका सरकारी कार्यालयहरु, स्थानीय तह, वडा कार्यालय, बजारका चोक–चोकहरुमा प्रहरी परिचालन गरेर सुरक्षा अवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ ।

यसैबीच बिहीवार रोल्पालगायत छ वटा जिल्लामा भएको बन्दका कारण दिनभर स्थानीयवासी मर्कामा परेका थिए । यातायात, बजार, उद्योग धन्दा, विद्यालय पूर्णरुपमा बन्द भएपछि रोल्पाबासी प्रभावित भएका छन् । रोल्पा र दाङबाट पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई बिनाशर्त रिहा गर्न माग गर्दै बिप्लव समूहले बन्द गरेको प्रेस विज्ञप्ति मार्फत
जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस