घोराही, ४ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ९ ले वडाका बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । शैक्षिक टेवा कार्यक्रमअन्तर्गत वडाका प्रावि त्रिवेणी, प्रावि अस्परी एवं मावि तेघराका गरी बीसजना बिपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । बालबालिकाहरुलाई झोला, कापी र कमल सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख भरत अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि अर्यालले ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विशेष ध्यान जानुपर्ने बताउनुभयो । विद्यालय र स्थानीय सरकारको समन्वय अति आवश्यक भएको बताउँदै उहाँले शिक्षक, अभिभावक एवं जनप्रतिधि सबै शिक्षाको गुणस्तर सुधार्न लाग्नुपर्ने धारणा राख्नुभयो ।
वडा अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अर्याल, बिशिष्ठ अतिथि घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भट्टराई, पत्रकार नरेन्द्र केसीलगायतले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अर्याल, नरेदेवी मावि तेघराका प्रधानाध्यापक कमलबहादुर खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा सदस्य मधुमती गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडाकी सामाजिक परिचालक सीता चौधरीले गर्नुभएको थियो ।












