घोराही, १७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्षका लागि तय गरेका ५७ योजनाहरुमध्ये १५ वटा योजना सम्पन्न भएको जनाएको छ । वडा कार्यालयले आइतबार गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष शक्तिराम डाँगीले चालु आर्थिक वर्षका ५७ वटा वडास्तरीय योजना तथा कार्यक्रममध्ये १५ वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो ।

ती १५ योजना तथा कार्यक्रम सम्पन्न हुँदा १४ लाख ७० हजार रुपैयाँको काम भएको वडाले जनाएको छ । त्यसैगरी २२ वटा योजना सम्झौता भएर तीब्र गतिमा काम भैरहेको जानकारी दिइएको छ । वडाको चालु आर्थिक वर्षका लागि ९० लाख रुपैयाँ बजेट रहेको छ ।

त्यसैगरी, नगरस्तरीय ६ वटा योजना रहेको र केहीमा स्थानीयको लागत सहभागितामा काम भैरहेको जानकारी दिइएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा टोल विकास संस्थासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्थानीय सरकारले तय गरेका योजना तथा कार्यक्रमलाई सबै मिलेर दिगो र सफल बनाउनुपर्ने बताएका थिए । साथै उनीहरुले कालोपत्रेको कामलाई समयमै सम्पन्न गर्न र वर्षायाममा काम नगर्न समेत सुझाब दिएका छन् ।

त्यसैगरी, विभिन्न करहरुका बारेमा अहिले पनि नागरिकहरुमा अन्यौलता रहेको भन्दै स्पष्ट पारेर मात्रै कर संकलन गर्न आग्रह गरेका छन् । कानुनभन्दा बाहिर कोही पनि नहुने भन्दै उनीहरुले व्यवसाय दर्ता, राजस्व संकलन, सेवा प्रवाहमा सहजता र छिटोछरितो बनाउनु पर्नेमा समेत जोड दिएका छन् ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले सेवामा छरितो र विकासमा दिगोपना ल्याउन नागरिकहरुकै सहयोग आवस्यक रहेको बताउनुभयो । त्यसैगरी पूर्वाधार महाशाखा प्रमुख डिभिजन इन्जिनियर युवराज पौडेलले वडाबासीलाई विकाससँगै जोडिन र निगरानीमा बस्न आग्रह गर्दै अपनत्वको भाव नगरबासीमा हुनुपर्ने बताउनुभयो ।

बागेश्वरी असल शासन क्लव बासको समन्वयमा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नन्दकुमार पोख्रेल, राष्ट्रिय जनमोर्चाका रामबहादुर जिएम लगायतले वडाको विकास र समन्वयलाई थप प्रभावकारी बनाउन सुझाब दिनुभयो । कार्यक्रमको सहजीकरण बासका अध्यक्ष नवीन अभिलाषीले गर्नुभएको थियो ।

वडाले व्यक्तिगत घटना दर्तातर्फ जन्मदर्ता १ सय १२, विवाह दर्ता २४, मृत्युदर्ता १६, सामाजिक सुरक्षातर्फ ७ सय ७२, जेष्ठ नागरिक संख्या २ सय ८ जनाको सूचिकृत गरेको जनाएको छ । वडाले १ सय ६२ वटा नयाँ व्यवसाय दर्ता समेत गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस