तिर्थराज ज्ञवाली

मसुरिया दाङ, १२ भदौ । राप्ती गाउँपालिकाका ३ वटा वडाका गाउँहरु सिल गरिएको छ । राप्ती गाउँपालिका बिपद् ब्यवस्थापन समितिको बिहीवार बसेको बैठकले सरोकार वालाहरुसंग छलफल गरि कोरोना समुदायमा पुग्न सक्ने सम्भावना रोक्न गाउँपालिका क्षेत्रका ३ वटा वडामा पर्ने गाउँहरुलाई शिल गर्ने निर्णय गरेको हो ।

‘पछिल्लो समय कोरना भाईरसको संक्रमण समुदायमा बढ्न सक्ने भएकोले सम्भावित संक्रमणको जोखिम क्षेत्रलाई सिल गर्ने निर्णय गरेका हौ’-राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । केहि दिन पहिले कोरना संक्रमित पत्ता लागेको गाउँमा थप संक्रमणको अवस्था रोक्न राप्ती गाउँपालिकाले बिपद् व्यवस्थापन समितिको बैठकबाट यस्तो निर्णय गरिएको र यो निर्णयले समुदायलाई कोरनाबाट सुरक्षित राख्न सहयोग पुग्ने आशा राखिएको समेत अध्यक्ष सुवेदीले बताउनुभयो ।

राप्ती गाउँपालिकाको वडा नं १, ४ र ८ नं वडाका भालुवाङ, पुल्चोक बजार क्षेत्र, पुरानो बजार, पाखापानी, कोहलुवा, बुडिचौर, मौरिघाट गाउँलाई १२ गते रातिबाट अर्को सूचना नगर्दासम्मलाई पूर्णरुपले प्रहरी प्रशासनको सहयोगमा शिल गरी आवतजावत बन्द गर्ने तथा अटेर गर्नेलाई नियन्त्रणमा लिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्रमा यातायातका सवारी साधनसमेत बन्द गर्ने निर्णय गरिएको छ ।  समितिको निर्णयअनुसार सबैखाले बस, टेम्पु, माईक्रो, टेक्टरलगायत सबै सवारीसाधन पूर्ण रुपले बन्द गर्ने निर्णय भएको छ । एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा भने सञ्चालनमा आउने बताइएको छ ।

राप्ती गाउँपालिकाको क्षेत्रमा पछिल्लो समयमा थप कोरना संक्रमित देखिन थालेको र सो संक्रमण समुदायमा समेत छिरेको सम्भावनाका कारण गाउँपालिकाले बन्दाबन्दीको निर्णय लिनु परेको हुँदा कार्यालयको सेवा समेत अर्को सूचना नहुँदासम्मको लागि बन्द गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ । साथै वडाहरुले कोरना बाट बच्नको लागि सन्देशहरु प्रवाह गरी नागरिकलाई भयभित नभई सजग रहन अनुरोध गर्ने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीको अवस्थालाई निरन्तरता दिन विद्यालय पूर्णरुपले हाललाई बन्द राख्ने अनुरोध गरेको र राप्तीमा स्वास्थ्य सेवालाई सावधानीका साथ सञ्चालनमै राख्ने समेत निर्णय गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।

राप्ती गाउँपालिकामा केही दिन पहिले ३ जनामा कोरोना संक्रमण देखिएको र ती तिनजना चेकजाँच पूर्व होम क्वारेन्टाइनमा बस्दै आएकोमा लापरवाहीका साथ बाहिर निस्किएको जनाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस