दाङ, २५ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिभर भएका गतिविधिको समीक्षा गर्दै अभियानको समापन गरेको छ । तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा र न्यायिक समितिको आयोजना तथा सरोकारवाला संस्थाको समन्वयमा १६ दिने अभियानका क्रममा भएका गतिविधिको समीक्षा गर्नुका साथै ७२औँ मानव अधिकार दिवस समेत मनाइएको थियो ।
कार्यक्रमका सहभागीहरुले हिंसा अन्त्यका लागि अभियान मात्र चलाएर नहुने भन्दै हिंसा नगर्ने र हिंसाविरुद्ध लाग्ने प्रतिबद्धता जनाउनु पर्ने बताएका थिए । मानव अधिकार उल्लङ्घनका घटनाहरु दिनप्रतिदिन बढिरहेको बताउँदै कार्यक्रमका सहभागीहरुले मानव अधिकारको रक्षार्थ सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा हिंसा प्रभावित व्यक्तिहरुसँग समेत अन्तक्र्रिया गरिएको थियो । उनीहरुका समस्याहरु समाधान गर्न सरोकारवालाहरु एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख शर्माले उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याई हिंसा प्रभावितलाई उद्यमशीलतातर्फ जोड्ने प्रयासमा रहेको बताउनुभयो ।












