दार्मा, २२ फागुन । दार्मा गाउँपालिका सल्यानलाई पोषणयुक्त बनाउने प्रतिबद्धता त्यहाँका सरोकारवालाहरुले व्यक्त गरेका छन् । गाउँपालिकामा सञ्चालित सुआहारा कार्यक्रमअन्तर्गत आयोजित एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरुले गाउँपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कुपोषणका कारण व्यक्तिको शारीरिक, मानसिकलगायत सम्पूर्ण विकास प्रक्रियामा बाधा पुग्ने भन्दै स्थानीयस्तरमै भएका पोषणयुक्त खाद्यान्नको सन्तुलन मिलाएर खानुपर्ने गोष्ठीका सहभागीहरुको निष्कर्ष रहेको छ । गाउँपालिकालाई पूर्ण पोषणयुक्त बनाउन कार्यक्रमका सहभागीहरुले एकीकृत कार्ययोजना निर्माण गरी प्रस्तुत गरेका थिए । पोषणयुक्त नहुनुको समस्या पहिचान तथा कारणको खोजी, निरन्तरता दिन सकिने क्रियाकलापहरुको प्राथमिकीकरण, अनुगमन, मूल्याङ्कन योजनता लगायतका विषयमा छलफल गरी समग्र कार्ययोजना प्रस्तुत गरिएको थियो ।
स्वास्थ्य तथा पोषणका लागि स्थानीय सुशासनका नीति लिइने र सम्पूर्ण विषयगत शाखाहरुलाई कुपोषण अन्त्यका लागि क्रियाशील बनाउने गरी योजना निर्माण तथा प्रतिबद्धता व्यक्त गरिएको छ । पोषणका लागि सचेतनामूलक कार्यक्रमका साथै कृषि, पशुपालनलगायतका उत्पादनमूलक क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले कुपोषणको अन्त्यका लागि सचेतनामूलक कार्यक्रममा विशेष ध्यान दिन आग्रह गर्नुभयो । पोषणयुक्त खानाको अभाव भन्दा पनि अण्डा बेचेर चाउचाउ, बिस्कुट किन्ने बानीले मानिसहरु कुपोषणको शिकार भएको उहाँको भनाइ थियो । विद्यालय, तथा समुदाय केन्द्रित विशेष कार्यक्रम लिन उहाँले विषयगत शाखाहरुलाई निर्देशन दिनुभयो । प्रतिबद्धता गर्नु ठुलो कुरा नभएको भन्दै अध्यक्ष केसीले त्यसको कार्यान्वयन गरे मात्र उपलब्धि प्राप्त गर्न सकिने बताउनुभयो । सुनौला १००० दिनभित्र बौद्धिक विकासमा टेवा पुग्नेगरी विशेष योजनाका साथ काम गर्न उहाँले विषयगत शाखालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा सुआहारा सल्यानका कार्यक्रम संयोजक अमृत पौडेल र निमराज केसीले पोषणको महत्व, औचित्य र आवश्यकताबारेमा सहभागीहरुलाई प्रकाश पार्नुभएको थियो । त्यसैगरी निमित्त प्रमुख प्रशासकीय अभिकृत अमृत खड्काले कृषि, पशु, शिक्षा, स्वास्थ्य, पोषण तथा सरसफाइमा गाउँपालिकाको लक्ष्य र स्थानीय सरकारको अपेक्षा बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिकालगायतका विषयगत शाखाहरुले समेत मुख्य व्यवहारसम्बन्धी सूचकहरुको अवस्था, उपलब्धि र सञ्चालित क्रियाकलापबारे जानकारी गराएका थिए । एकीकृत पोषण सेवाको दिगोपनाका लागि सुदृढ प्रणालीबारे पोषण अधिकृत लिलबहादुर नेपालीले प्रशिक्षण दिनुभएको थियो ।
दार्मा गाउँपालिका सुआहारा अन्तर्गत डिडिएस सल्यानले पोषणको कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखाहरु, स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी, फारुलाबजार व्यवस्थापन समितिलगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुआहाराका कार्यक्रम संयोजक अमृत पौडेल, दलित विकास समाज (डिडिएस) सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनलगायतले गाउँपालिकालाई पोषणयुक्त बनाउन गर्न सकिने योजनाहरुबारे प्रस्तुति राख्नुभएको थियो । कार्यक्रम फागुन १९ र २० गते दार्मा गाउँपालिकाको सभाहलमा सञ्चालन भएको थियो ।














