दाङ, १९ वैशाख । लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको समस्या भयो ? यदि भयो भने यस्तो समस्यामा दाङका युवाहरुले सुरु गरेको ‘एक कल समस्या हल’ तपाईंको साथी बन्न सक्छ । दाङका युवाहरु अमर अधिकारी र भ्युराज थापा मगरले सुरु गरेको ‘एक कल समस्या हल’ले घरघरमै विना शुल्क सामान पुर्‍याउँदै आएको छ ।

३ वर्ष अगाडि सुरु भएको यो सेवा लकडाउनको अवधिमा निकै प्रभावकारी बनेको छ । लकडाउनका कारण घरबाट बाहिर निस्कन नसकिने अवस्था र जोखिम भएको यो अवस्थामा यी युवाहरुले छिटो र अतिरिक्त चार्ज विनै सेवा उपलब्ध गराइरहेका छन् ।

सञ्चालक अमर अधिकारीले लकडाउनको समयमा अत्यावश्यक सामग्री घरैसम्म पु¥याइरहेको जानकारी दिनुभयो । फोन र अनलाइनमार्फत् सेवाग्राहीलाई किराना सामग्री, खाना, नास्ता, फलफूल, तरकारी, प्लम्बिङलगायतका विभिन्न सेवाहरु दिइरहेको अधिकारीले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा सेवाग्राही थोरै भए पनि लकडाउनको अवधिमा दैनिक २० देखि ३० जना नयाँ सेवाग्राही जोडिएको भन्दै अधिकारीले भन्नुभयो–‘हिजोको दिनमा हामीसँग सेवा लिने १ सय ५० जना मात्र नियमित ग्राहक हुनुहुन्थ्यो भने चौथो वर्षमा प्रवेश गरेसँगै दैनिक २०/३० जना नयाँ ग्राहक थपिनुभएको छ र अहिले हामीसँग सेवा लिने २ हजार बढी नियमित ग्राहकहरु हुनुहुन्छ ।’

आफ्नो यो व्यवसायमा अहिले ४ जनालाई रोजगारी दिएको अधिकारीले जानकारी दिनुभयो । घोराही आसपासको ६ किलोमिटर क्षेत्रमा बिहान ७ वजेदेखि बेलुका ६ वजेसम्म ‘एक कल समस्या हल’ ले सेवा उपलब्ध गराइरहेको सञ्चालक भ्युराज थापाले बताउनुभयो । ई–सेवाबाट पैसा तिर्ने ग्राहकहरुलाई १% छुट दिने गरेको थापाले जानकारी दिनुभयो । ‘एक कल समस्या हल’ले लडडाउनयता १ हजार २ सय बढीलाई सेवा दिइसकेको जनाएको छ ।

नियमित औषधि सेवन गर्ने दीर्घरोगीहरुलाई समेत औषधि घरमै पुर्‍याउने गरेको थापाले बताउनुभयो । दाङ चेम्बर अफ कमर्स घोराही, नेपाल फार्मेसी संघ दाङ शाखा र घोराही उपमहानगरपालिका वडा नं. १५ सँगको समन्वयमा सेवा प्रवाह गर्दै आएको सञ्चालक थापाले जानकारी दिनुभयो ।  मोबाइल नं. ९८०१३५३८८७ मा सम्पर्क गरे तत्काल सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस