दाङ, २२ फाल्गुन । त्रिभुवननगर जेसीजले दाङको घोराहीमा शनिबार आधारभूत शेयर तालिम सम्पन्न गरेको छ । युवाहरुलाई उद्यमशीलतासँग जोड्ने अभियान अन्तर्गत आयोजना गरिएको उक्त तालिममा दाङका ७० बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तालिमका प्रशिक्षक भट्टराईले शेयर बजारमा लगानी गर्ने विधि, कम्पनी छनौट गर्दा अपनाउनुपर्ने सावधानी एवं शेयर बजारसम्बन्धी आधारभूत ज्ञानबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम समापनमा बोल्दै भट्टराईले आईपीओ मात्र नभएर सेकेन्डरी मार्केटबारे जानकारी हासिल गरी लगानी गर्न सके प्रशस्त लाभ लिन सकिने बताउनुभयो । एकलाख बढी व्यक्तिहरुलाई शेयर शिक्षा दिने र दश हजार बढीलाई करोड मुनाफा दिलाउने अभियानमा आफू लागेको उहाँले बताउनुभयो ।

समय सान्दर्भिक तथा पछिल्लो समय लगानीको केन्द्र बनेको शेयर बजारमा बारेमा जानकारी लिन, लाभांश लिने तरिका र गलत तत्वबाट बच्ने सन्दर्भमा विशेष केन्द्रित प्रशिक्षणमा प्रशिक्षार्थीहरुको निकै उत्साहजनक सहभागिता रहेको थियो ।
त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्माको अध्यक्षता एवं नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सुवास चन्द्र भट्टराईको प्रमुख आतिथ्यामा तालिम सम्पन्न भएको हो । तालिममा त्रिभुवननगर जेसीज, लमही जेसीज, दाङ महिला जेसीज, तुलसीपुरनगर जेसीजका साथै स्थानीय अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानका अध्यक्ष पुष्पराज आचार्य, फुलबारी जेसीजका पूर्व अध्यक्ष जेसी वीरसिंह महरा, तुलसीपुरनगर जेसीजका पूर्व अध्यक्ष सूर्य प्रसाद शर्मा, दाङ महिला जेसीजकी अध्यक्ष ममता विष्टले तालिमले दिएको उपलब्धी र शेयर बजारका बारेमा उल्लेख्य जानकारी प्राप्त भएको धारणा राख्नुभएको थियो । कार्यक्रम संयोजक विवेक आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको तालिमको उद्घाटन तथा समापन समारोहको सहजीकरण महासचिव टंक रावत (अनन्त)ले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस