दाङ, २३ माघ । प्रेस चौतारी दाङले ‘एक वडा एक चौतारी सदस्य’ अभियान सञ्चालन गर्ने भएको छ । चौतारी दाङको आइतवार बसेको बैठकले अभियान सञ्चालनको लागि जिल्लाका दशै पालिकामा आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसको समन्वय लागि बबई, दंगीशरण र शान्तिनगरमा चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जा, तुलसीपुर उपमहानगरपालिकामा उपाध्यक्ष सुधासुमन ढकाल, घोराही उपमहानगरपालिकामा सचिव किरण गौतमलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी लमही नगरपालिका र राप्ती गाउँपालिकामा कोषाध्यक्ष गोकर्ण पौडेल, गढवा र राजपुरको लागि सहसचिव एकराज भण्डारी र बंगलाचुली गाउँपालिकामा सहसचिव चन्द्रप्रकाश नेपालीलाई जिम्मेवारी दिएको छ । बैठकले नेतासँग चौतारी संवाद गर्ने समेत निर्णय गरेको छ । बैठकले विगतदेखि वर्तमानसम्म चौतारी दाङको इतिहास तयार पार्न सचिव गौतम, चौतारी दाङमा स्थापित पुरस्कार र अक्षयकोष दाताको चिनारी तयार पार्न कोषाध्यक्ष पौडेल, पुरस्कार मापदण्ड निर्माण तथा पुरस्कार विरतणको अभिलेख तयार पार्न उपाध्यक्ष राम्जा मगरलाई जिम्मेवारी दिएको छ । चौतारी दाङको बैठकलाई घुम्ती बैठकमा विस्तार गर्ने र चौतारी राहत कोष स्थापना गर्ने समेत निर्णय गरेको छ ।

त्यसैगरी बैठकले चौतारी दाङको सल्लाहकारमा निवर्तमान अध्यक्ष जे एन सागर, पूर्व सचिव वसन्त आचार्य र निवर्तमान सल्लाहकार रञ्जिता शर्मालाई चयन गरेको छ । बैठकले जिवन अधिकारी, महेश बस्नेत, नवराज शर्मा, मुना खनाल, अशोक कुमार नेपाली र हिमाल खड्कालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ । त्यसैगरी बैठकले प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुर्दशन रिजालको संयोजकत्वमा चौतारी तालिम तथा प्रशिक्षण प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको सदस्यहरुमा दुर्गालाल केसी, के.वी चौधरी, प्रवल रेग्मी र रीता लामालाई चयन गरेको छ ।

बैठकले उपाध्यक्ष सुधा सुमन ढकाल संयोजक र विमला घर्ती सह संयोजक रहने र थप सदस्यहरु पछि विस्तार गर्नेगरी महिला विभाग गठन गरेको छ । प्रेस चौतारी नेपालको स्थापना दिवसमा चौतारी दाङले आयोजना गरेको रक्तदान कार्यक्रम सफल बनाउने सवैप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकले पेशागत महासंघ दाङका अध्यक्ष अरुणकुमार शर्माकी आमा र नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसीका बुबाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठक चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उपाध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मनतव्यवाट शुरु भएको बैठकको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस