बिजय रोका क्षत्री

घोराही, २५ फागुन । घोराही उपमहानगरपालिका ११ शिवपुरमा अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका ११ का अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा चौकीको उद्घाटन गरिएको हो ।

भौगोलिक विकटता रहेको यस क्षेत्रमा विभिन्न आपराधिक घटनाहरु धेरै हुन थालेपछि स्थानीय र जनप्रतिनिधिको प्रयासमा चौकी स्थापना गरिएको हो । चौकी स्थापना पछि स्थानीयले खुसी व्यक्त गर्दै शान्ति सुरक्षाको आधार पाएको बताए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामिछानेले चौकी स्थापनापछि चौकीले स्थानीय नागरिकमा सुरक्षाको प्रत्याभूति दिनेमा आफू ढुक्क भएको धारणा राख्नुभयो । भर्खर मात्रै चौकी स्थापना भएको बताउँदै लामिछानेले अब के कसरी अगाडि बढ्ने र आगामी दिनमा आउने विभिन्न सेवा तथा समस्यामा घोराही ११ ले सदैब साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

गाउँ घरमा जुवातास लागुऔषध दुर्ब्यसनी, काठ तस्करलगायत विभिन्नखाले आपराधिक घटनालाई जरैदेखि निर्मुल पार्न प्रहरीलाई मात्रै जिम्मेवार देख्नुभन्दा यी कार्यहरुमा जनताको सहभागिता हुनुपर्ने बताउनुभयो । प्रत्यक्ष जनता सङ्ग सरोकार राख्ने एक मात्र नेपाल प्रहरी भएको बताउँदै उहाँले प्रहरी र जनताको सम्बन्ध पानी र माछा जस्तो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले प्रहरीले मात्र नभएर जनता र प्रहरीको साझेदारीबाट शान्ति सुरक्षा सुव्यवस्थित गर्न सकिने भएको हुँदा हरेक व्यक्ति  जिम्मेवार बन्नुपर्ने बताउनुभयो । सहीलाई सही र गलतलाई गलत भनी प्रहरीको काममा सबैले सहयोग पुर्‍याउनु पर्ने धारणा राख्नुभयो ।अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउनु पर्ने स्थानीयको भनाइ थियो । आफ्नो क्षेत्र एकदमै बिकट र विभिन्न आपराधिक क्रियाकलाप हुने गरेको ठाउँ भएकोले स्थायी चौकीको आवश्यकता भएको स्थानीयको माग थियो ।

घोराही उपमहानगरपालिका ११ का वडा सदस्य ज्ञान बहादुर बिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ध्रुब गौतम, चन्द्रबहादुर डाँगी, ज्ञानेन्द्र वली, गोविन्द गौतम, सुरेन्द्र काफ्लेले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण डम्मर गौतमले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस