दाङ, ७ वैशाख । नेपाल निजामती कर्मचारी संगठनले आफ्नो स्थापना दिवसका अवसरमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संगठनले तुलसीपुर डुम्रीगाउँमा रहेको अनाथ बालबालिका आश्रम –दिदीघर)मा रहेका २४ जना बालबालिकालाई झोला, कापी, कलम सहितका शैक्षिक सामग्री वितरण गरेको हो ।
संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले संगठनले अनाथ बालबालिकाप्रति देखाएको सद्भावको सराहाना गर्नुभएको थियो । भोलिका देशका कर्णधार बालबालिकाहरुप्रतिको यो सहयोग खेर नजाने भन्दै उहाँले यसले बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
संगठनको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङले आयोजना गरेको थियो भने त्यसको व्यवस्थापन तुलसीपुर नगर कमिटीले गरेको थियो । कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो ।












