दाङ, २३ फागुन । त्रिभुवननगर जेसीजको आयोजनामा दाङको घोराहीमा रेकी दीक्षा कार्यक्रम सम्पन्न भएको छ । यही फागुन १९ र २० गते रेकी प्रथम दीक्षा र २१ र २२ गते दोस्रो दीक्षा कार्यक्रम सम्पन्न भएको त्रिभुवननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष अमर अधिकारीले जानकारी दिनुभयो ।
ब्रह्माण्डीय ऊर्जा कसरी प्राप्त हुन्छ र साधनाबाट तनाब तथा रोग मुक्त हुने सिकाइ रेकी दीक्षाबाट हुने रेकी हिलिङ्ग फाउन्डेशन नेपालका अध्यक्ष हिमाल ओझाले बताउनुभयो । कार्यक्रममा रेकी हिलिङ्ग फाउन्डेसनका प्रमुख प्रशिक्षक सुजन पोखरेलले सहभागीहरुलाई रेकी हिलिङ्ग विधिबारे प्रशिक्षित गराउनुभएको थियो ।
रेकी प्रथम दीक्षा समापनको प्रमुख अतिथि त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष मुकेश्वर शर्मा तथा दोस्रो दीक्षा समापन कार्यक्रमको प्रमुख अतिथिमा त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानको अध्यक्ष दीपक शर्मा समीर रहनुभएको थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले मानिस दिन प्रतिदिन कामको बोझ तथा तनाबका कारण डिप्रेशनमा फसिरहेको अवस्थामा रेकी दीक्षाले मानिसमा ऊर्जा उत्पादन गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै त्रिभुवननगर जेसीजका अध्यक्ष कुलबहादुर वलीले मानिसको अस्तव्यस्त जीवनशैलीलाई व्यवस्थित गर्न रेकी हिलिङ्गले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । व्यस्त समयलाई व्यवस्थापन गर्दै थोरै समय मात्र भए पनि रेकी ध्यानमा लगाउन सके यसले जीवनमा नवीन ऊर्जा थप्ने अध्यक्ष वलीले बताउनुभयो ।
रेकी प्रथम दीक्षाको कार्यक्रम संयोजकमा त्रिभुवननगर जेसीजको प्रकरण निर्देशक कमल कुमार शर्मा र दोस्रो दीक्षाको कार्यक्रम संयोजकमा त्रिभुवननगर जेसीजको स्वास्थ्य संयोजक पंकज आचार्य रहनुभएको थियो । त्रिभुवननगर जेसीजले गत माघ महिनामा समेत रेकी प्रथम दीक्षा सम्पन्न गरिसकेको छ । कार्यक्रमबाट हालसम्म ४० बढी व्यक्तिहरु दीक्षित भइसकेका छन् ।












