घोराही, ३ वैशाख । त्रिभुवननगर जेसीजले जेसीज सप्ताहको तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान–जीवन बचाउने हाम्रो अभियान’ मूल नाराका साथ जेसीजले घोराहीस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा अनिश अधिकारी, वसन्त प्रसाद भण्डारी, प्रकाश श्रेष्ठ, युवराज अधिकारी, अमर अधिकारी, किरण गौतम, धनेश्वर शर्मा, रोमन अधिकारी, हिमाल पौडेल, शिव घर्ती मगर र विमल खड्का रहनुभएको छ ।रक्तदानका अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाका सभापति थम्मन चौधरीले रक्तदान जीवनको सबैभन्दा महत्वपूर्ण र पुण्यको कार्य भएको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले कोभिड–१९, भूकम्प, तथा अन्य हरेक अप्ठेरो परिस्थितिमा त्रिभुवननगर जेसीजले सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो । रक्तदानको सन्दर्भमा जेसीजको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँले अप्ठेरोमा बिरामीलाई रगतको सहज आपूर्ति गरेर मनोेबल उच्च राख्ने गरेको बताउनुभयो ।
कार्यक्रममा दाङ महिला जेसीजकी नारायणी भण्डारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक कमल कुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव किरण गौतमले गर्नुभएको थियो । कार्यक्रममा जेसीज सप्ताहका मूल संयोजक अमर अधिकारीले सप्ताहव्यापी कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

