घोराही, २९ वैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै गरेको आन्दोलन पछि बसेको दुई चरणको उच्चस्तरिय बैठक निष्कर्षविहीन भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै आन्दोलन गरेका हुन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ८ सौरीकी मधु बुढाथोकी केसीको हिजो प्रतिष्ठानमा मृत्यु भएपछि घटनाको उचित अनुसन्धान सहित क्षतिपूर्तिको माग राख्दै आज बिहीबार बिहानैदेखि आफन्त तथा पीडितहरु प्रतिष्ठान परिसरमा आन्दोलनमा उत्रिएका थिए ।

यसैबीच आज बसेको दुई चरणको उच्चस्तरिय बैठक निस्कर्ष विहिन भएको छ । बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रशासन र पीडितबीच कुरा नमिल्दा बैठक टुंगिएको थियो भने दिउसो प्रतिष्ठानमा बसेको बैठक पनि निस्कर्ष विहिन रुपमा सम्पन्न भएको डा. बसन्त लामिछानेले जानकारी दिनुभयो ।

मृतकको क्षतिपूर्ति वापत ५० लाख, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने तथा यसप्रकारका कमी कमजोरी प्रतिष्ठानले रोक्नुपर्ने माग आफूहरुको रहेको मृतकका श्रीमान् शेरबहादुर केसीले बताउनुभयो । यद्यपि आज पीडित पक्ष, प्रतिष्ठानका डाक्टर तथा प्रतिनिधी, राजनितिक दल, घोराही ८ का अध्यक्ष जितेन्द्र शाहलगायतको सहभागितामा बसेको बैठक निष्कर्षविहीन भयो । प्रतिष्ठानका डाक्टर वसन्त लामिछानेका अनुसार उपकुलपति विकास लामिछाने र रजिष्टार प्रकाश थापा दुवैजना जिल्ला बाहिर भएकाले आजको बैठकमा निर्णय हुन सकेन । पीडितहरुको माग सम्बोधनका लागि प्रतिष्ठानले अर्काे बैठक बसेर निकास दिने बताएको छ ।

यसैगरीले पीडित परिवारले मृतकको शरीरको सबै अंक परीक्षण हुनुपर्ने समेत माग राखेको छ । मृतकका श्रीमान् केसीका अनुसार २८ वर्षीया मधु बुढाथोकी केसी हिजो दिउँसो १ बजे सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हातहालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको ज्यान गएको दावी छ । उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराई आफु खुशी सुत्केरीको उपचार गर्न खोज्दा ज्यान गएको मृतकका श्रीमान शेरबहादुरले बताउनुभयो । बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएर उपचारको बहानामा बिरामी मार्ने खेल भएको उहाँको आरोप छ ।

सुत्केरी हुनुअघि सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको अवस्थामा प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकीले बताउनुभयो । सुत्केरीको मृत्युको विषयमा प्रतिष्ठानले अहिलेसम्म आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन । तर, पीडितहरु समक्ष सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रतिष्ठानले प्रारम्भिक जवाफ दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस