घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार बुद्ध इन्टरनेसनल हस्पिटलका डा. रमेश बस्नेतलाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्लामै सर्जरी सेवा दिएर धेरैको जीवन जोगाउन योगदान गरेको भन्दै त्रिभुवननगर जेसीजले डा. बस्नेतलाई पुरस्कृत गरेको हो ।

युवा दिवसको अवसर पारेर जेसीजले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने युवाहरुलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । सो अवसरमा बोल्दै स्वदेशमै नमूना काम गरेर योगदान गर्ने युवाहरुलाई त्रिभुवननगर जेसीजले पुरस्कृत गरेर युवाहरुलाई प्रोत्साहन गरेर सरोकारवालाहरुले बताएका छन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले युवाहरुलाई उद्यमशीतामा जोड्नुपर्नेमा जोड दिनुभयो । पैसा कमाउन विदेशमै जानुपर्छ भन्ने सोच बदल्न जेसीज जस्तै सामाजिक संस्थाहरुले भूमिका खेल्नुपर्ने चौधरीको भनाइ थियो । उहाँले उद्यमशीलतामा जोडिने युवाहरुलाई स्थानीय सरकार सहयोग गर्न तयार रहेको जनाउनुभयो ।

सो अवसरमा त्रिभुवननगर जेसीजका पूर्वअध्यक्ष खगराज पाण्डे, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार प्रथम विजेता सविन प्रियासन, युवा परिषद् दाङका अध्यक्ष सुरेश रावत, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सहायक प्रहरी निरीक्षक तीर्थराज भुसाल, दाङ क्रिकेट संघका अध्यक्ष एवं यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार २०१८ का विजेता प्रदीप मजगैयाँ, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारी, तुलसीपुरनगर जेसीजका अध्यक्ष शालिकराम वली, लमही जेसीजकी कार्यबाहक अध्यक्ष निर्मला चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्रिभुवननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं पुरस्कार छनौट समितिका संयोजक अमर अधिकारीले पुरस्कार विजेता घोषणा गर्नुभएको थियो । कार्यकारिणी उपाध्यक्ष कृष्णदेव थापाको जेसीज आस्थापाठबाट शुरु भएको कार्यक्रममा त्रिभुवननगर जेसीजका सचिव एवं कार्यक्रम संयोजक राजन घर्तीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष कुलबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव किरण गौतमले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस