दाङ, ९ चैत्र । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ ले १ सय जना मजदुरहरुको जीवन बिमा गरिदिएको छ । वडाले सूचना जारी गरी आदेवन दिएका १ सय जना मजदुरहरुको बिमा गरिदिएको हो ।
वडाभित्र स्थायी बसोबास गर्ने मालवाहक सवारी टिप्पर, ट्याक्टरका चालक, सहचालक तथा कामदार, कृषि तथा पशुपंक्षी फार्ममा काम गर्ने कामदार, सामुदायिक वन हेरालु, हाउस वायरिङ तथा प्लम्बरसम्बन्धी कामदार र ग्रील तथा विभिन्न खाले मिलहरुमा काम गर्ने १८ देखि ५५ वर्ष उमेर समूहका कामदारहरुको म्यादी जीवन बिमा गरिएको वडाअध्यक्ष धर्मराज वलीले जानकारी दिनुभयो । बिमाका लागि आवेदन दिन सूचना आह्वान गरिएकोमा वडामा आवेदन दिएका स्वरोजगार तथा रोजगारमा संलग्न व्यक्तिहरुको म्यादी बिमा गरिएको वलीले जानकारी दिनुभयो । स्वदेशमै रोजगारी गर्नेहरुलाई प्रोत्साहन तथा उनीहरुको जोखिमलाई मध्यनजर गरी बिमा गरिएको उहाँले बताउनुभयो ।
जोखिमपूर्ण काममा आवद्ध कामदारहरुलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको र यो कार्यक्रमले नागरिकहरुको सुख, दुःखमा स्थानीय सरकारसँगै छ भन्ने सन्देश दिने वडाध्यक्ष धर्मराज वलीले बताउनुभयो । ‘विभिन्न क्षेत्रमा काम गरिरहेका यो वर्ष एक सयजनाको बिमा गर्ने तयारी भएको छ । छुटेकाहरुलाई अर्को वर्ष समेट्छौं । यो एक लाख बराबरको बिमा हो’– उहाँले भन्नुभयो– ‘यो कार्यक्रमको उद्देश्य जोखिमयुक्त काम गर्ने कामदारहरुले बिमा र बचत गर्न सिकून् भन्ने पनि हो । हाम्रो कार्यकाल अरु तीन वर्ष बाँकी छ, यो समयसम्म वडा कार्यालयमार्फत बिमा गरिदिने योजना बनाएका छौं ।’
कार्यक्रममा बिमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले नेपालमा ४० प्रतिशत मान्छेहरुले मात्रै जीवन बिमा गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘धेरै आम्दानी हुनेहरुले मात्रै जीवन बिमा गर्ने गरेका छन् । त्यसकारण स्थानीय सरकारको यो अभियानले न्यून आयस्रोत भएका नागरिकहरुलाई पनि जीवन बिमामा जोडिनुपर्छ भन्ने सन्देश दिनेछ । हामीले आफूसँग हुँदा गरेको थोरै बचतले अप्ठ्यारोमा पर्दा ठूलो सहायता दिने बाटो हो, जीवन बिमा ।’
बिमा गरेका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएमा हकवाला व्यक्तिले बिमांक बराबरको रकम र किरिया खर्च पाउँछन् । दुर्घटनाबाट पूर्ण अशक्त भएमा बिमांक बराबरको रकम र मृत्यु भएमा बिमांकको दोब्बर रकम तथा दुर्घटनाबाट घाइते भएमा बिमांकको १० प्रतिशत रकम उपचार खर्चका लागि पाइने इन्स्योरेन्सका घोराही उपशाखा प्रमुख रविन्द्र गौतमले जानकारी दिनुभयो ।
वडाध्यक्ष धर्मराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले जनप्रतिनिधिहरुले जनपक्षीय काम गरेको धारणा राखेका थिए । कार्यक्रममा निवर्तमान वडा सदस्य चित्रबहादुर डाँगी, वडाबासीहरु टीकाराम पंगाली, दशरथ वली, मेघराज केसी, जीतबहादुर खड्का, शारदा प्रावि टिकरीका प्रअ हरिबहादुर बिकलगायतले बोल्नुभएको थियो । वडा सदस्य तुलप्रसाद खरेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दलबहादुर बस्नेतले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस