काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। आइतबार उपचारका क्रममा ढुंगानाको निधन भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका छन्।
ढुंगानाको अन्तिम संस्कार राष्ट्रिय सम्मानका साथ आज पशुपति आर्यघाटमा गरिनेछ। अन्त्येष्टिभन्दा अघि बिहान ११:३० बजे सानो गौचरणमा आयोजना हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न व्यक्तित्वहरू सहभागी हुनेछन्।
सरकारले शोकका रुपमा स्वदेश तथा विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।
वरिष्ठ अधिवक्ता तथा शान्तिवार्ताका सहजकर्ता रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म नेपालको सभामुख पदमा रहिसकेका थिए। उनले देशको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।