दाङ, १२ माघ । आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रही सुपर सिक्समा पुगेको छ । १४६ रनको विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पुरा गरेको छ ।

आकाश चन्दले ५ विकेट लिएपछि पहिला ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ४०.१ ओभरमा अलआउट गरेको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा देव खनालले अविजित ५८ रन बनाएपछि नेपालले ४४.४ ओभरमा विजय लक्ष्य पूरा गरेको हो । नेपालले सन् २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको हो ।

यस नतिजापछि नेपाल तेस्रो पटक यू–१९ विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० मा र बंगलादेशमा २००२ मा भएको यू–१९ विश्वकपमा पनि नेपालले पहिलो चरण पार गरेको थियो ।

समूह ‘डी’ बाट यसअघि नै पहिलो दुई खेल जितेर न्युजिल्यान्ड र पाकिस्तानले सुपर सिक्समा स्थान सुरक्षित गरेका थिए । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानले सबै तीन खेलमा पराजय भोगेको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस