सुरेश कुमार रावत

राष्ट्रको मेरुदण्ड युवा पुस्ता हो। देशको विकास, चेतना र परिवर्तनको यात्रा युवाको विचार र कर्ममा टेकेको हुन्छ। तर आजको नेपालमा यही युवापुस्ता निराशा, असन्तोष र उद्देश्यहीनताको दलदलमा फस्दै गएको देखिन्छ।  देशभित्र अवसरको अभाव, बेरोजगारी, राजनीतिक अस्थिरता र प्रविधिप्रतिको अत्यधिक आकर्षणले युवालाई मानसिक रूपमा कमजोर बनाउँदै लगेको छ। अझ चिन्ताको कुरा के भने — अध्ययन, लेखन र सृजनात्मक सोचजस्ता अभ्यास, जसले पहिलेको पुस्तालाई चिन्थ्यो, अहिले त्यो कुरा बिस्तारै हराउँदै गइरहेका छन्।

अबको आवश्यकता यही हो —अहिले हराउँदै गएको अध्ययन र लेखन संस्कृतिलाई कसरी पुनर्जीवित गर्ने र पुस्तान्तरण गर्ने?
१. युवाको निराशाको पृष्ठभूमिः
नेपालको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाले युवाको मनोविज्ञानमा गहिरो प्रभाव पारेको छ। शिक्षा र रोजगारीबीच असन्तुलन, दीर्घकालीन नीतिको अभाव र अवसर नपाउने पीडाले “यहाँ केही सम्भव छैन” भन्ने मानसिकता जन्माएको छ।
क) बेरोजगारी र अवसरको अभाव उच्च शिक्षा प्राप्त युवाले पनि आफ्ना सीप र योग्यता प्रयोग गर्ने अवसर पाउँदैनन्। रोजगारी नपाएपछि उनीहरू विदेशिन बाध्य छन्। देशले उत्पादनशील जनशक्ति गुमाइरहेको छ, जसले आत्मविश्वास र देशभकति भावनामा कमी ल्याएको छ।
ख) राजनीतिक अस्थिरता र विश्वासको संकट युवालाई नारामा मात्र “भविष्यका कर्णदार” भनिन्छ, तर त्यो कुरा व्यवहारमा लागू हुदैन। राजनीतिक नेतृत्वमा निरन्तर परिवर्तन, नीतिगत अस्पष्टता र अवसरहीनताले युवामा राज्यप्रतिको विश्वास कमजोर बनाएको छ।
ग) प्रविधिमा निर्भरता र सतही मनोरञ्जन मोबाइल र सामाजिक सञ्जालले युवा पुस्ताको ध्यान कब्जा गरेको छ। अध्ययन र लेखनको ठाउँ मनोरञ्जन र छोटा सामग्रीले लिएको छ। बौद्धिक संवाद घट्दै गएको छ, जसले सोच्ने र सिर्जना गर्ने क्षमता नै कमजोर बनाइरहेको छ ।

२. हराउँदै गएको लेखन र अध्ययन संस्कृतिको प्रभावः
नेपालको इतिहासमा लेखन र अध्ययनले नै चेतनाको जग बसालेको छ । भूपि शेरचन, बिपी कोइराला, सिद्धिचरण श्रेष्ठजस्ता व्यक्तित्वहरूले कलमलाई परिवर्तनको हतियार बनाएका थिए । तर आजको पुस्ता छोटा भिडियो, ट्रेन्डिङ र स्टाटसमा सीमित हुँदै गएको छ । यसले युवापुस्तामा गहिरो असर पारिरहेको छ— युवामा विश्लेषण गर्ने क्षमता घट्दै गएको छ, विचारशील नेतृत्वको अभाव देखिएको छ, राष्ट्रको ज्ञान–परम्परा कमजोर बन्दै गएको छ । लेखन र अध्ययन केवल व्यक्तिगत सीप होइन, यो त राष्ट्रको बौद्धिक सम्पदा हो । यदि यो सम्पदा हरायो भने, भोलिको पुस्ता इतिहास, संस्कृति र मूल्य–मान्यताबाट सदाको लागी टाढा हुनेछ ।

३. पुस्तान्तरण किन आवश्यक छ?
क) सांस्कृतिक निरन्तरताका लागि लेखन र अध्ययन हाम्रो सभ्यता र चेतनाको मेरुदण्ड हुन् । यही अभ्यासले भाषा, संस्कृति र पहिचानलाई जोगाउँछ। पुस्तान्तरणले यी सम्पदालाई नयाँ पुस्तामा सुम्पिन्छ।
ख) वैचारिक नेतृत्व निर्माणका लागि भविष्यका नेता विचारशील हुनुपर्छ। त्यो सम्भव हुन्छ—जब उनीहरूले पढ्ने, सोच्ने र लेख्ने बानी बसाल्छन् ।
ग) आत्मविकास र नागरिक चेतनाका लागि लेखन र अध्ययन आत्मचिन्तनको प्रक्रिया हो। यसले युवालाई जिम्मेवार, संवेदनशील र सचेत नागरिक बनाउँछ, जसले समाज परिवर्तनको नेतृत्व गर्न सक्छ ।

४. पुस्तान्तरणका व्यावहारिक उपायहरू
क. परिवारबाट सुरु हुने अभ्यास बच्चालाई मोबाइल होइन, पुस्तक र कलम उपहार दिने संस्कार पुनः जगाउनुपर्छ। अभिभावकले सन्तानसँग सँगै पढ्ने र लेख्ने वातावरण सिर्जना गर्नुपर्छ।
ख. विद्यालय र विश्वविद्यालयमा सुधार शिक्षण प्रणालीले घोकन्ते र रटायुक्त शिक्षण होइन, सोच्ने र लेख्ने क्षमता विकास गर्नुपर्छ। हरेक विद्यालयहरुमा पत्रिका, निबन्ध प्रतियोगिता,लेखन तथा खोज तथा अनुसन्धानात्मक कार्यक्रमहरूलाइ सक्रिय बनाइनुपर्छ।
ग. स्थानीय सरकार र संस्थाहरूको भूमिका स्थानीय तहहरूले पुस्तकालय, युवा पठन केन्द्र र लेखन कार्यशालामा लगानी गर्नुपर्छ। युवाहरुको क्षेत्रमा काम गर्ने संस्थाहरूले “पढौं–लेखौं अभियान” सञ्चालन गरेर समुदायमा ज्ञान संस्कृतिको पुनर्जागरण गर्न सक्नेछन् ।
घ. प्रविधिको सकारात्मक प्रयोग सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मलाई ज्ञान प्रसारको माध्यम बनाउन सकिन्छ। ब्लग लेख्ने, ई–बुक पढ्ने र अनलाइन साहित्यिक समूह सञ्चालन गर्ने अभ्यासले लेखन संस्कृतिलाई नयाँ रूप दिन सक्छ ।
ङ. वरिष्ठ पुस्ताको मार्गदर्शन वरिष्ठ लेखक, प्राध्यापक, शिक्षक र विचारकहरूले युवासँग नियमित छलफल तथा संवाद गर्नुपर्छ । अनुभव र ज्ञानको हस्तान्तरणले नयाँ पुस्तामा आत्मविश्वास र प्रेरणा जगाउँछ।

५. युवाको आत्मजागरण:
परिवर्तनको मुटु परिवर्तनको सुरुवात युवाबाटै हुन्छ। लेखन र अध्ययन युवाको आत्म–अभिव्यक्तिको माध्यम हो । कलमले बन्दुक भन्दा शक्तिशाली परिवर्तन ल्याउन सक्छ। हरेक युवाहरुमा लेख्ने बानी बसाल्नुपर्छ । जसको लागि दैनिक डायरी, निबन्ध, विचार, लेख वा सामाजिक सन्दर्भमा टिप्पणी मार्फत युवाहरूलाई जोडन सक्नुपर्दछ । यही अभ्यासले नै उनीहरूलाई सोच्ने, बुझ्ने र नेतृत्व गर्ने बाटोमा लैजान्छ।

६. निष्कर्षः
नेपालको युवा पुस्ता अहिले समस्यामा छ — सपना र वास्तविकता बीच, सम्भावना र सीमितता बीच। तर समाधान स्पष्ट छ — अध्ययन र लेखनको पुनर्जागरण। यो मात्र त्यस्तो बाटो हो जसले युवामा आत्मविश्वास, विचार र चेतना पुनः जागृत गर्न सक्छ। राज्य, समाज, विद्यालय र परिवार सबैले साझा रूपमा अगाडि बढ्न जरुरी छ । र युवाले पनि बुझ्नुपर्छ कि कलम थाम्नु केवल पेशा होइन, यो हाम्रो जिम्मेवारी पनि हो । “जब युवा पढ्न र लेख्न थाल्छन्, तब राष्ट्रप्रति सोच्न र देशभक्ति भावनाले अघि बढ्न थाल्छ।” नेपालको भविष्य उज्यालो बनाउने शक्ति हाम्रै युवाको कलम त ती कलमले लेख्ने किताबमा छ। त्यो कलम र किताबलाई सुतेको अवस्थामा राख्नु बेइमानी हो —अब समय आएको छ, कलम जागोस्, विचार बोलोस्, र अध्ययन फेरि संस्कृतिको केन्द्र बनोस्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस