घाेराही, भदाै २६ । सर्वप्रथम अहिलेको Jen-Z आन्दोलनमा ज्यान गुमाएका आन्दोलनकारी र सुरक्षाकर्मीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। उनीहरूको योगदान र बलिदानले हामीलाई सुरक्षा, न्याय र लोकतन्त्रको महत्त्व सम्झाउँछ।

यसैबीच, अहिलेको परिस्थितिमा नेपाल प्रहरी आफैं असुरक्षित छन् । प्रहरीका घर, कार्यालय र बर्दीसम्म आक्रमणको शिकार भएका छन् । प्रहरी कार्यालयहरू भग्नावशेषमा परिणत भएका छन्, सवारी साधन जलाइएका छन्, र खुलेआम नागरिकले बर्दी दुरुपयोग गरिरहेका छन्। यस्तो अवस्थामा नागरिकको जीवन र सम्पत्ति, साथै सार्वजनिक संरचना र राष्ट्रको सुरक्षा कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने प्रश्न उठ्छ।

अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा शान्तिसुरक्षा र अपराध नियन्त्रण गर्न प्रहरीलाई अपार मेहनत र साहस चाहिन्छ। पीडित नागरिकका फोन दिनहुँ प्रहरी कार्यालयमा आइरहन्छन् । अब प्रश्न उठ्छ—नेपाल प्रहरी आफैं असुरक्षित रहँदा कसरी नागरिकको सुरक्षा र न्याय सुनिश्चित गर्न सक्छ?

अहिलेको घटनाले हामीलाई सिकाउँछ कि हिंसा र विध्वंसले केवल समाजलाई अस्थिर बनाउँछ र कानुनी व्यवस्थाको प्रक्रियामा बाधा पुर्‍याउँछ। हामी सबैले हेक्का राख्नुपर्छ—जलाइएका भवन, खोसिएका बस्तु र दुरुपयोग भएका बर्दीले न्याय खोज्ने प्रक्रियामा फेरि बाधा पुर्‍याउन नदिनु आवश्यक छ।

हामीले दुई दिनमै प्रहरी बिहीन देशको यथार्थ देख्यौं। तर यसबाट सिक्नुपर्ने कुरा यो हो कि हिंसा समाधान होइन। नागरिक, आन्दोलनकारी र सुरक्षाकर्मी सबैले संवेदनशीलता, समझदारी र सहकार्यमा विश्वास राखेर मात्र समाजलाई सुरक्षित र न्यायसंगत बनाउन सकिन्छ।

समाज, सुरक्षा र न्यायको रक्षा हामी सबैको साझा जिम्मेवारी हो। हालको घटना केवल पीडा र चुनौती होइन; यो हामीलाई चेतना, सहिष्णुता र संवेदनशीलताको पाठ पढाउने अवसर पनि हो। जय नेपाल ।

सन्ताेष हरदम मगर (राेल्पा)

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस