चन्द्र प्रकाश नेपाली
घोराही, ७ वैशाख । त्रिभुवननगर जेसीज घोराहीले जेसीज सप्ताह–२०२५ को दोस्रो दिन लागू औषध दुर्व्यसन विरुद्ध उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको दोस्रो दिन आइतवार घोराही १७ कर्जाही स्थित निर्णय पुनर्स्थापना केन्द्र र बुद्ध ईन्टरनेशनल हस्पिटलसँग सहकार्यमा लागू औषध दुर्व्यसन विरुद्ध उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको हो ।

त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नंम्वर १७ का वडा अध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यतामा निर्णय पुनर्स्थापना केन्द्रमै एक औपचारिक कार्यक्रम गरेर केन्द्रमा सुधारका लागि बस्दै आएका लागू औषध प्रयोगकर्ता ३५ जनालाई लागू औषध दुर्व्यसन विरुद्ध उत्प्रेरणा गरिएको हो ।

वडा अध्यक्ष चौधरीले लागू औषध दुर्व्यसन अहिलेको युवापुस्तामाझ फैलिएको गम्भीर समस्या भएको बताउदै यसको रोकथामका लागि सबै तहका निकायले सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । यस्ता उत्प्रेरणा कार्यक्रमले प्रयोगकर्तामा सुधारको भावना जागृत गराउने भन्दै युवाहरूलाई सकारात्मक मार्गमा डोर्याउन घोराही १७ सधैं तयार रहेको बताउनुभयो ।

कार्यक्रममा आध्यात्मिक वक्ता डा. भोलानाथ योगी र फिजिसियन डा. अभ्यास पोखरेलले सहभागीहरूलाई दुर्व्यसनको असर र समाधानका उपायबारे मार्गदर्शन गर्नुभएको थियो । आध्यात्मिक वक्ता डा. भोलानाथ योगीले दुर्व्यसनबाट मुक्ति आत्मिक जागरण र आत्मअनुशासनबाट सम्भव हुने भन्दै ध्यान, योग र सकारात्मक सोचले व्यक्तिमा मानसिक शक्ति वृद्धि हुने बताउनुभयो । आध्यात्मिक मार्गदर्शनले व्यक्ति आफैंमा परिवर्तन ल्याउन सक्ने भन्दै निर्णय पुनर्स्थापना केन्द्रमा बस्नेहरूले आत्मा विश्वास र लक्ष्यका साथ अघि बढ्नुपर्ने र समाजमा पुनःस्थापित हुनुपर्ने बताउनुभयो ।

यस्तै फिजिसियन डा.अभ्यास पोखरेलले लागू औषध प्रयोगले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भन्दै चिकित्सकीय दृष्टिकोणले समयमै उपचार र परामर्श आवश्यक हुने भन्दै यस्ता कार्यक्रमहरूले स्वास्थ्य सचेतना फैलाउन मद्दत पुर्याउने बताउनुभयो ।

दाङ महिला जेसिजका संस्थापक अध्यक्ष निर्मला गौतमले युवाहरू लागू औषधको दुष्प्रभावबाट जोगिन आत्मविश्वास र मार्गदर्शन आवश्यक रहेको जोड दिनुभयो । यस्ता सामाजिक अभियानहरूले उनीहरूमा नयाँ ऊर्जा र जीवनप्रतिको दृष्टिकोण बदल्न मद्दत गर्ने भन्दै जेसिजले सामाजिक उत्तरदायित्व अन्तरगत यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष गर्दै आएको बताउनुभयो ।

श्यामकुमार गिरीको जेसीज आस्थापाठ, गणेश वलीको जेसीज मिसन तथा भिजन प्रस्तुती र उक्त कार्यक्रमका संयोजक किरण न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस