बुटवल, १७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नुभएको छ । बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्नुभयो । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि उहाँले जानकारी दिनुभयो । “रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ” उहाँले भन्नुभयो ।

समुदायको क्षेत्रबाट रक्त सञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गर्नुभयो । दान र सेवाको माध्यमबाट सामाजिक कामलाई अघि बढाउन सकिने र सबैमा सेवाको भावनाको भोग जाग्न जरुरी रहेको समेत बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिनुभयो । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्यका साथै सरकारले सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उहाँको भनाइ थियो । “बिरामीहरूले अपरेशनका निमित्त धेरै दिन कुर्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले लक्ष्यसहित काम अघि बढाएको छ । सेवा प्रवाह नै पहिलो सर्त हो । यसमा सरकार दृढ छ” उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला पक्ष, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस