जेठ २१, काठमाण्डौ । आज (बुधबार) ‘निर्दोष बालबालिकामाथिको अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमार्फत इजरायलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकाले भोगेको हिंसाबाट स्तब्ध हुँदै उक्त दिनलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको थियो।
यस दिवसको उद्देश्य विश्वभरका बालबालिकाले सहनुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नुका साथै उनीहरूको संरक्षण सुनिश्चित गर्नु हो।
संयुक्त राष्ट्रसंघले बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा बालबालिकाको अधिकार संरक्षणप्रति प्रतिबद्धता जनाउँदै आएको छ। हाल पनि विश्वका थुप्रै बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताको चपेटामा परेका छन्।
सन् २०१५ मा पारित ‘२०३० का लागि दिगो विकास एजेन्डा’ले बालबालिकाको सुरक्षाका लागि सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा तथा दुव्र्यवहारविरुद्ध कडा कदम चाल्ने स्पष्ट लक्ष्य निर्धारण गरेको छ।












