नवराज खत्री
घाेराही, १४ असार । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शनिबार घोराहीमा खुल्ला पुरुष र महिला १० किलोमीटर रोड रेस प्रतियोगिता सम्पन्न भएकाे छ । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र महिलातर्फ आर्मीकै निशा सार्की प्रथम भएका छन् । श्रेष्ठले उक्त दुरी ३१ मिनेट ३० सेकेन्डमा र सार्कीले ३७ मिनेट ४० सेकेन्डमा पार गर्नुभएकाे थियाे ।

पुरुषतर्फ आर्मीकै नरेन्द्र रावतले ३१ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै द्वितीय हुनुभएको थियाे भने नेपाल प्रहरीका नागेश्वर अहिरले ३१ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै तृतीय हुनुभएकाे थियाे । उक्त प्रतियोगितामा आर्मीका विनाेद राेकाया चाैथाे, एपीएफका रुपेश कार्की पाँचौं, आर्मीका सुशील कुमार शाही छैठौं, आर्मीकै करण रावल साताैँ, कपिलवस्तुका अजय पाँडे आठौं, सल्यानका बबिन याेगी नवाैँ र राेल्पाका झरमान पुन दशाैँ हुनुभएको थियाे ।

महिलातर्फ एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै द्वितीय, एपीएफकै दिपा परियारले ३९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै तृतीय, नेपाल प्रहरीकी सुमित्रा कुमारी चाैधरी चाैथाे हुनुभएको छ । यसैगरी आर्मीकी पुष्पा कठायत पाँचौं, बाँकेकी दीपशिखा शाही छैठौं, बाँकेकै स्वस्तिका शाही साताैँ, दाङकी निरमाया चाैधरी आठौं, दाङकै उर्मिला घर्ती मगर नवाैँ र रुकुम पश्चिमकी कमला ओली दशाैँ हुनुभएकाे छ।

प्रतियोगितामा प्रथम हुने पुरुष र महिला दुवैलाई जनही ५०/५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएकाे छ । यसैगरी, दोस्रो हुनेलाई जनही ३०/३० हजार, तेस्रो हुनेलाई जनही २०/२० हजार, चौथो हुनेलाई जनही १५/१५ हजार र पाँचौँ हुनेलाई जनही १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएकाे छ ।

प्रतियोगितामा सहभागी भएका पुरुष र महिला खेलाडी मध्ये छैठाैँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई पनि समान स्वरुप ५/५ हजार रुपैयाँ प्रदान गरिएकाे थियो ।

खेलकुदले समाजलाई एकताबद्ध बनाउने भएकाले खेलकुदको विकाससँगै खेलाडी पहिचान गर्दै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्न यस प्रकारको प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस