घाेराही, ९ साउन । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले दुर्घटना बिमा रकमकाे चेक हस्तान्तरण गरेकाे छ ।
गत जेठ २२ गते घरमा खेल्ने क्रममा दुर्घटना भइ उपचाररत विद्यार्थी बर्षात गिरिलाई अभिभावक लक्ष्मी गिरिकाे राेहबरमा विद्यालयका प्रिन्सिपल महेश बस्नेतले शुक्रबार बिमा चेक हस्तान्तरण गर्नुभएकाे थियाे ।
शिखर इन्स्योरेन्स कम्पनी घाेराहीले विद्यालयकाे खातामा दुर्घटना बिमावापत उपलब्ध गराएकाे ३३ हजार रकमकाे चेक बिमित छात्र बर्षात गिरिलाई प्रदान गरिएकाे थियाे ।
दुर्घटना बिमाकाे चेक प्राप्त गरेपछि अभिभावक खुसीले खुसी व्यक्त गर्दै विद्यालयले बिमा गरि दिएर राहत गरेकाे बताउनुभयाे । प्रक्रियाअनुसार आवश्यक सम्पूर्ण कागजातहरु कम्पनीसमक्ष पेश गर्न सकियाे भने सहजै रकम उपलब्ध हुने भन्दै उपचार गर्दाका कागजात सुरक्षित राख्नुपर्नेमा आफू सजग भएकाे गिरिले बताउनुभयाे । उहाँले विद्यालयकाे बिमा याेजना प्रशंसनीय रहेकाे बताउनुभयाे ।
बिमा चेक हस्तान्तरण गर्दै विद्यालयका प्रिन्सिपल महेश बस्नेतले विद्यार्थीहरुकाे सानासाना लापरबाहीले ठुलाे दुर्घटना निम्तिएर धेरै उपचार खर्च हुने भएकाले अभिभावकलाई राहत पुग्नेगरी विद्यालयले स्वस्फूर्त विद्यार्थीहरुकाे १ लाखसम्मकाे दुर्घटना बिमा शिखर इन्स्योरेन्स कम्पनीमा गरिदिएकाे बताउनुभयाे । विद्यार्थी र अभिभावककाे हितमा हुने याेजनाका लागि विद्यालय सँधै सकारात्मक रहदै आएकाे उहाँले बताउनुभयाे । हालसम्म चारजना विद्यार्थीले बिमा रकम प्राप्त गरिसकेकाे र सबैकाे दुर्घटना घरमै खेल्ने क्रममा भएकाे प्रिन्सिपल बस्नेतले बताउनुभयो ।
विद्यालयले शैक्षिकसत्र २०८१ देखि नै विद्यार्थीहरुकाे दुर्घटना बिमा गर्दै आएकाे छ। शिखर इन्स्योरेन्स कम्पनीसँग भएकाे सम्झाैता अनुसार २ हजारदेखि १ लाखसम्मकाे उपचार खर्च बिमा कम्पनीले बेहाेर्ने रहेकाे छ ।












