घोराही, १८ साउन । पिरामिड एकेडेमी, घोराहीको आयोजनामा सञ्चालित जिल्ला स्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार समापन गरिएकाे छ। गत शुक्रबारदेखि सञ्चालित प्रतियोगिताकाे विजेता  सिद्धार्थ एकेडेमी, घोराही भएकाे छ भने उपविजेता गोर्खा स्कुल, तुलसीपुर भएको छ।

प्रतियोगिताकाे समापन समाराेहमा विजेता सिद्धार्थ एकेडेमीकाे टिमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता गाेर्खा स्कुल तुलसीपुरकाे टिमलाई नगद २० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ।

पिरामिड एकेडेमीका अध्यक्ष किशोर लोहनीको अध्यक्षता र घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा आयाेजित प्रतियोगिता तीन दिनसम्म चलेकाे थियाे ।

उद्घाटन समारोहमा बाेल्दै उपप्रमुख डिसीले खेलकुद स्वास्थ्यका लागि अत्यावश्यक रहेको बताउँदै खेलाडीहरू राष्ट्रका गहना भएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय सरकारले पनि खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको बताउनुभयो। उहाँले निजी क्षेत्रबाट पनि खेलकुदको प्रवर्द्धनमा विशेष ध्यान दिएको भन्दै पिरामिड एकेडेमीको प्रशंसा गर्नुभयाे ।

पिरामिड एकेडेमीका प्रवन्ध निर्देशक नवीन आचार्यले  प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे। प्रतियाेगिता सञ्चालन गर्नुकाे उद्देश्यमाथि प्रकाश पार्दै आचार्यले आगामी वर्ष पनि उक्त प्रतियोगिताकाे दाेस्राे संस्करण सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस