विमल योगी
दाङ, २२ साउन । दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा आज बिहीवारदेखि जिल्ला स्तरीय लोकभजन प्रतियोगिता सञ्चालन हुने भएको छ । लोप हुदै गएको लोकभजनको संरक्षण, सम्वद्र्धन र धार्मिक जागरणका लागि आयोजना गरिएको लोकभजन प्रतियोगिता अन्तरगत दर्ता भएका लोकभजन टिमलाई पालैपालो प्रस्तुतीकरणको व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।
साउन १ गतेदेखि जारी शिवपुुराण एवं श्रीङ्गारिक महाआरतीमा यस वर्ष लोकभजन प्रतियोगिता समेत थप गरिएको हो । हाल सम्म जिल्लाका विभिन्न स्थानबाट ५ वटा टिम दर्ता हुन आएको र ती टिमलाई प्रत्येक दिन दिउँसो १२ बजेदेखि प्रस्तुतीकरणको अवसर दिइने छ । लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैया पुरस्कार समेत दिइनेछ ।
यसैविच शिवपुराण तथा श्रीङ्गारिक महाआरतीमा भक्तजनहरुको उपस्थिति बढ्दै गएको छ । विशेष गरी सोमवार र शनिवार श्रीङ्गारिक महाआरतीको दर्शन गर्न उल्लेख्य भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मूल व्यवस्थापन समितिका संयोजक गणेश कुमार अधिकारीले जानकारी दिनुभयो ।
शिवपुराण तथा श्रीङ्गारिक महाआरतीमा दैनिक आरती संकल्प, विभिन्न नाटक, कथा प्रवजन, झाँकी प्रर्दशन, ब्राह्मण भोजन संकलन, प्रसादी वितरण संकलन, रुद्राभिषेक संकलन, वरपिपल जलअभिषेक र श्रावण ३० गते सामूहिक करोड दीप प्रज्ज्वलन कार्यक्रम समेत गरिने छ ।

