काठमाडौं, ११ भदौ । महिलाहरूको महान पर्व तीजको अवसरमा अधिकांश महिला मठ–मन्दिर, चोक–चौतारामा उल्लासपूर्वक रमाइरहेका बेला अखिल नेपाल महिला संघ (अनेमसंघ) काे केन्द्रीय टोली भने देशभर बढिरहेका महिला हिंसाका घटनाबारे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गृह मन्त्रालय पुगेको छ।
अनेमसंघ इञ्चार्ज सीता पौडेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीमा उपाध्यक्ष तथा सांसद मेनुका पोखरेल, महासचिव पेम्बा लामा, सचिव आसा बिक, केन्द्रीय सदस्य एवम् सांसद शान्ति श्रेष्ठ, केन्द्रीय सदस्य कालिका पाठक, रञ्जु पोखरेल र पार्वती सुनुवारलगायतको उपस्थिति थियो।
गृहमन्त्री रमेश लेखकले महिला हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सत्य–तथ्य घटनाको शीघ्र अनुसन्धान गरी पीडकलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै पीडितका लागि क्षतिपूर्ति र आवश्यक व्यवस्थापनका लागि पनि मन्त्रालय सक्रिय रहने जानकारी दिनुभयो।
त्यस्तै, हाल महिला प्रहरीको संख्या १२ प्रतिशत मात्र रहेको भन्दै आगामी दिनमा यसलाई कम्तीमा २० प्रतिशत पुर्याउने, महिला सेल गठन गरी महिलासम्बन्धी सवालमा तदारुकतापूर्वक कार्य गर्ने तथा उपयुक्त योजना बनाउन निर्देशन दिइएको पनि गृहमन्त्री लेखकले जानकारी दिनुभयो।
ज्ञापनपत्रमार्फत अनेमसंघले देशभर बढ्दो महिला हिंसाका घटनालाई जघन्य अपराधको रुपमा लिएर दोषीलाई कानुनी कारबाही गर्न र पीडितलाई न्याय तथा सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।












