घोराही, २५ असोज । नेकपा एमाले दाङको जनसंगठन समन्वय संयन्त्रले यहि असोज २६ गते घोराहीमा आयोजना गरेको शान्तिपुर्ण बृहत जनजागरण सभाको तयारी पूरा भएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कार्बाही र नागरिकमा शान्ति सुरक्षाको प्रत्याभुती र लुटिएका सरकारी तथा ब्यक्तिगत सम्पत्ति फिर्ताको माग गर्दै पार्टीको जनसंगठन समन्वय संयन्त्रको आयोजनामा घोराहीमा शान्तिपूर्ण जनजागरण सभा हुन लागेको हो ।

संयन्त्रका संयोजक मनोहर बुढाथोकीले कार्यक्रमको तयारी सबै पूरा भएको जानकारी दिनुभयो । हालको राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यस बिरुद्ध शान्तिपूर्ण जागरण सभाको आयोजना गरिएको संयोजक बुढाथोकीले जानकारी दिनुभएको छ ।

जेनजी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, ब्यक्ति हत्या, कुटपिट, लुटपाट, आक्रमण, सार्वजनिक सम्पत्ति आगजनी, ब्यक्तिगत सम्पत्ति आगजनी र तोडफोड लगायतका घटनाको निश्पक्ष छानबिन गरेर घटनामा संलग्नको पहिचान गरि कार्बाही गर्नुपर्ने नाराहरु लगाइने एमालेले जनाएकाे छ। सभामा विधिको शासन र संविधानको रक्षा, राष्ट्रिय हित, स्वाभिमानको संरक्षण, भुमिहिन सुकुम्बासीको न्याय, सुरक्षाकर्मी तथा कर्मचारीहरुको मनोबल उच्च बनाउन र आन्दोलनको नाममा देखिएको अराजकताविरुद्ध सबैलाई एक हुन आह्वान गर्ने लगाएतका नाराहरु पनि सभामा लगाइने एमाले दाङले बताएकाे छ ।

वर्तमान सरकारले जेन्जी आन्दोलनका क्रममा भएका जतिपनि घटना छ्न त्यसमा पक्षपातपुर्ण ढंगले अघि बढ्न खोजेको प्रती सरकारको ध्यानाकर्षण गराउने पनि उद्देश्य रहेको बताइएकाे छ । नेकपा एमालेले सधैं राष्ट्रियता, जनजीविका र सुशासनका पक्षमा रहेको र आवाज उठाउँदै आएको स्मरण गराउदै जनअधिकार तथा राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्ने पनि कार्यक्रमले सन्देश दिने बुढाथोकीले बताउनुभयो । साथै सुरक्षाकर्मिहरुको सयौं हातहतियार, गोलिगठ्ठा बाहिरै रहेको तथा सयौ कैदिबन्दि जेल बाहिर रहेकाले समाज त्रसित अवस्थामा रहेकाले त्यसतर्फ सरकारलाई थप संवेदनशील बन्न आग्रह समेत गरिने जनाइएकाे छ ।

कार्यक्रमलाई सफल बनाउनका लागि दाङका सबै पालिका र वडाहरुबाट नेताकार्यकर्तासँगै जेन्जी युवापुस्ताको व्यापक सहभागिता रहने आयाेजकले बताएका छन् । घोराहीको ट्राफिक चोकमा बिहान ११ बजे जम्मा भएर र्याली सुरु भइ बजार परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर समापन हुने आयाेजकले बताएका छन्। जिल्ला प्रशासन र प्रहरी प्रशासनको समन्वयमा शान्तिपूर्ण कार्यक्रम हुने पनि बताइएको छ । कार्यक्रममा उपस्थितिका लागि समेत सबैमा संयोजक बुढाथोकीले अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस